वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ बडनिहारबाट प्रहरीले शंकास्पद वस्तुसहित एक उम्मेदवार र अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ।
फागुन १९ गते राति करिब १०ः१० बजेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको च १२५० नम्बरको गाडीको पछाडिको डिक्कीमा पहेलो टेपले बेरिएको टिनको बक्सभित्र शंकास्पद वस्तु फेला पारेको हो।
पक्राउ पर्नेहरूमा जो नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वीरगञ्ज महानगरपालिका १७ बस्ने ४६ वर्षीय मनोज कुमार चौधरी, बाराका २६ वर्षीय सहाब आलम अन्सारी, धनुषाका ३० वर्षीय सुरज कार्की र पर्सागढीका ६८ वर्षीय सत्यनारायण थारु रहेका छन्।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार फेला परेको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको र बिष्फोटक पदार्थ हक्स रहेको पुष्टि भएको छ । शंकास्पद वस्तुसँगै व्याट्रीहरु पनि रहेकोले पनि बम जस्तै बिष्फोटक पदार्थ भएको एसपी पाठकले बताए ।
उनीहरूमाथि विष्फोटक पदार्थ र सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
यसैगरी, फागुन २० गते राति वीरगञ्जकै नर्वागाउँबाट विशेष सूचनाको आधारमा बंगुरको टाउको र वाइरिङ्ग तारसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ।
यसैबीच, नेपाली कम्युनिष्ट पार्टीले आफ्ना उम्मेदवार मनोज चौधरीको गिरफ्तारीलाई निर्वाचन भाँड्ने षड्यन्त्रको रूपमा व्याख्या गरेको छ। नेकपाका नेताहरूले जिल्ला प्रहरी कार्यालय पर्सा नजिकै सडकमा पत्रकार सम्मेलन गर्दै निर्वाचनको माहौल बिथोल्न र जित्ने निश्चित भएका उम्मेदवारलाई बदनाम गर्न यस्तो हर्कत गरिएको आरोप लगाएका छन्।
नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले प्रहरीको विज्ञप्तिमा उल्लेखित कुराहरू बाझिएको भन्दै षड्यन्त्रको गन्ध आएको दाबी गर्नुभयो। पार्टीले उम्मेदवार चौधरीलाई तत्काल रिहा नगरे कडा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी समेत दिएको छ।
