दमक । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा झापाको क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय दमकले १० जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा दमक, कमल गाउँपालिका, गौरादह र इलाम चुलाचुलीका बासिन्दाहरू रहेका छन्। प्रहरीका अनुसार निर्वाचनको संवेदनशीलतालाई बेवास्ता गर्दै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र शंकास्पद रूपमा हिँडडुल गर्ने उनीहरूलाई मंगलबार राति गस्तीका क्रममा नियन्त्रणमा लिइएको हो।
झापा क्षेत्र नम्बर ५ यसपटक देशभरिकै ‘हाइ-प्रोफाइल’ चुनावी प्रतिस्पर्धाको केन्द्र बनेको छ। यहाँ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चुनावी मैदानमा उत्रिएका छन्। दुई प्रभावशाली नेताहरूबीचको प्रतिस्पर्धाले गर्दा यहाँको सुरक्षा स्थितिलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको छ।
प्रहरी नायव उपरीक्षक (DSP) किशोर लम्सालको नेतृत्वमा दमकका विभिन्न क्षेत्रमा निरन्तर गस्ती र निगरानी बढाइएको छ। “निर्वाचनलाई स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गराउन हामी प्रतिबद्ध छौँ,” प्रहरीले जनाएको छ, “आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि तत्काल कानुनी दायरामा ल्याइनेछ।”
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबि नारायण काफ्लेका अनुसार निर्वाचन बिथोल्ने र आचारसंहिता उल्लंघन गर्ने विरुद्धको कारबाही देशभरि नै तीव्र पारिएको छ। हालसम्म देशभरबाट १४२ जनालाई नियन्त्रणमा लिइएको छ, जसमध्ये ७६ जना अझै हिरासतमा छन् भने ६६ जनालाई आवश्यक सोधपुछ पछि छाडिएको छ।
पक्राउ परेका व्यक्तिहरूको नामावली:
दमक–५: अनिस रसाईली (२२), विवेक खड्का (१९), जोन विश्वकर्मा (२९)
दमक–४: सावित्रा लिम्बू (४०)
दमक–६: अख्तर खान (३७)
कमल गाउँपालिका–५: अशोक मुखिया (५३), हर्क राई (३९), डम्बर राई (६६)
गौरादह–२: उद्धवराज ताजपुरिया (४५)
इलाम चुलाचुली–४: छवि लिम्बू (३७)
प्रहरीले मतदाताहरूलाई कुनै पनि प्रलोभन वा डर-त्रासमा नपर्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको सुरक्षा निकायमा खबर गर्न अनुरोध गरेको छ।
