काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै आज सोमबार मध्यरात १२ बजेदेखि ‘मौन अवधि’ (Silece Period) सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि सुरु हुने यो अवधि मतदान केन्द्र बन्द नहुन्जेलसम्म अनिवार्य रूपमा लागू रहनेछ।
मौन अवधि सुरु भएसँगै राजनीतिक दल, उम्मेदवार तथा उनीहरूका शुभेच्छुकहरूले गर्ने सबै प्रकारका चुनावी प्रचारप्रसारका गतिविधिमा पूर्ण प्रतिबन्ध लागेको छ।
आयोगले जारी गरेको निर्देशनअनुसार मौन अवधिमा देहायका कार्यहरू गर्न निषेध गरिएको छ। कुनै पनि प्रकारका चुनावी सभा, भेला, सम्मेलन, अन्तर्क्रिया वा गोष्ठी गर्न पाइने छैन। उम्मेदवार वा दलका पक्षमा मत माग्ने वा प्रचार गर्ने कार्य पूर्णतः वर्जित छ।
मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका डिजिटल बोर्ड, ब्यानर, पोस्टर र अन्य प्रचार सामग्रीहरू आजै हटाउनुपर्नेछ। सामाजिक सञ्जाल (फेसबुक, टिकटक, एक्स आदि), सञ्चार माध्यम वा अन्य कुनै पनि विद्युतीय प्रक्रियाबाट मत माग्न र प्रचार गर्न कडाइका साथ रोक लगाइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको आचरणविपरीत गतिविधि गर्ने जोकोहीलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ। उहाँका अनुसार नियमको गम्भीर उल्लङ्घन गर्ने उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने कानुनी प्रावधान रहेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकारवाला पक्षलाई मौन अवधिको पालना गर्न विशेष आग्रह गरेको छ।
