बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजंघा स्कुलनजिकै गए राति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए ।
पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । खड्काका अनुसार, मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन्।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालक सिन्हालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो। घाइते चापागाईंको अवस्था हाल चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ।
