वीरगन्ज । वीरगन्जको चुनावी मैदान यसपटक केवल राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित छैन, यो वर्षौँदेखिको विरासत र एउटा नयाँ आशाबीचको गहिरो भावनात्मक टकराव बनेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि अब गन्तीका तीन दिन मात्र बाँकी रहँदा पर्सा क्षेत्र नम्बर १ को माहोल पूर्णतः बदलिएको देखिन्छ।
एकातिर दशकौँदेखि शासनसत्ताको बागडोर सम्हालेका ठूला दलका ‘ह्याभीवेट’ उम्मेदवारहरू आफ्नो साख जोगाउन संर्घषरत छन् भने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका हरि पन्त एउटा बलियो विकल्पका रूपमा उदाएका छन्। प्रजातन्त्र स्थापनादेखिको राजनीतिक विरासत बोकेका नेपाली कांग्रेसका अनिल रुङ्गटा र शक्ति आर्जनका लागि पटक(पटक दल बदल्दै यसपटक एमालेको छहारीमा पुगेका प्रदीप यादवका लागि पन्तको बढ्दो लोकप्रियता एउटा ठूलो चुनौती बनेको छ।
यो केवल चुनावी अभियान मात्र नभएर एउटा मौन क्रान्तिजस्तो देखिएको छ, जहाँ हरेक कोणसभा र घरदैलोमा रास्वपा प्रवेश गर्नेहरूको लर्कोले पुराना दलहरूका किल्लाहरू डगमगाउन थालेका छन्। ३५–४० वर्षदेखि एउटै अनुहार र उस्तै आश्वासन सुनेर थाकेका वृद्धवृद्धाहरूको आँखामा यसपटक ‘एकपटक नयाँलाई हेरौँ न त !’ भन्ने एउटा भावुक भरोसा झल्किएको छ।
उता, युवा पुस्ताले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा देख्ने सपनासँग घण्टीलाई जोडेका छन्, जसले गर्दा चुनावी लहर केवल प्रचारमा मात्र सीमित नभई जनताको भावनासँग जोडिन पुगेको छ। मतदाताहरू अब दलका दास होइन, परिवर्तनका संवाहक बन्न खोजिरहेका छन् भन्ने कुरा हरि पन्तको पक्षमा ओइरिएको जनसागरले पुष्टि गर्दछ।
शक्ति र पहुँचको भरमा राजनीति गर्नेहरूका लागि वीरगन्जका सडकमा गुन्जिरहेको घण्टीको आवाजले गम्भीर सन्देश दिइरहेको छ। सत्ता र मन्त्री पदका लागि गरिने राजनीतिक मन्थनभन्दा माथि उठेर जनताले यसपटक आफ्नै घरदैलोमा पुग्ने सरल र स्पष्ट उम्मेदवारमा आफ्नो भविष्य देख्न थालेका छन्।
यो जनलहरले पर्साका नागरिक अब पुराना दलहरूको घेराबन्दीबाट मुक्त हुन चाहन्छन् भन्ने देखाउँछ । यदि यो भावनात्मक लगाव फागुन २१ गते मतपेटिका सम्म उस्तै उत्साहका साथ पुग्यो भने, वीरगन्जले इतिहासमा एउटा नयाँ र साहसिक अध्याय कोर्ने निश्चित छ, जहाँ विरासत भन्दा जनचाहनाको जित हुनेछ।
