काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नभई ‘जनमत संग्रह’ को रूपमा व्याख्या गरेका छन्। शुक्रबार काठमाडौंमा नुवाकोट र काठमाडौंका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचन विशिष्ट प्रकृतिको भएको बताए।
प्रचण्डले निर्वाचनमा मुख्य गरी तीनवटा प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको दाबी गरे: १. सरकारी अतिवाद: भदौ २३ गते युवाहरूमाथि दमन गर्ने अहंकारी र दम्भी प्रवृत्ति। २. विदेशी चलखेल: भदौ २४ गतेको विध्वंशमा देखिएको देशी–विदेशी प्रतिक्रियावादी शक्ति। ३. राष्ट्रवादी शक्ति: राष्ट्रिय स्वाधीनता र प्राप्त अधिकार रक्षाका लागि उभिएको नेकपा।
“यो निर्वाचन २३ गतेको जेनजी आन्दोलनमा तत्कालीन सरकारले गरेको नरसंहार र त्यसपछि उत्पन्न परिस्थितिको परिणाम हो,” प्रचण्डले भने, “त्यसैले यसलाई सामान्य रूपमा नलिनुहोस्, यो राष्ट्र र लोकतन्त्र बचाउने जीवन–मरणको लडाइँ हो।”
उनले राष्ट्रको एकता र संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न नै नेकपाको जन्म भएको उल्लेख गर्दै कार्यकर्ताहरूलाई उच्च सतर्कताका साथ चुनावी मैदानमा उत्रिन निर्देशन समेत दिएका छन्।
