चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा हुने हिंसात्मक घटनाहरूको मुख्य जड राज्यको दमन र सिंहदरबारभित्र मौलाएको भ्रष्टाचार भएको दाबी गर्नुभएको छ। शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सत्ताको आडमा हुने गलत क्रियाकलापकै कारण जनता सडकमा उत्रिन बाध्य भएको बताउनुभयो।
सभापति लामिछानेले ‘जेनजी’ आन्दोलनका क्रममा भएको हिंसा र सिंहदरबारमा भएको आगजनीलाई एउटै कडीका रूपमा व्याख्या गर्नुभयो। “पहिले राज्यले निर्दोष बालबालिकामाथि गोली चलाउँछ, अनि त्यसकै आक्रोशमा भौतिक संरचनाहरू जल्छन्,” लामिछानेले भन्नुभयो, “बालबालिकामाथि प्रहार गर्ने र मुलुकको ढुकुटी लुट्नेहरूको प्रवृत्ति र समूह एउटै हो।”
सिंहदरबार जल्नुको पछाडि कुनै बाह्य तत्व नभई त्यहाँ भित्रको बेथिति जिम्मेवार रहेको उहाँको आरोप छ। सम्बोधनका क्रममा उहाँले भन्नुभयो:
“सिंहदरबार त्यसैले जलायो, जसले यसलाई भ्रष्टाचारको अखडा बनायो र जनताप्रति गैरजिम्मेवार बन्यो।”
लामिछानेले सत्तामा बसेर बालबालिकाको ज्यान लिने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने शक्तिहरू नै यस्ता विध्वंसकारी परिस्थितिका लागि जिम्मेवार रहेको जिकिर गर्नुभयो।
विगतका घटनाहरूबाट पाठ सिक्दै अब आक्रोशलाई निर्माणमा बदल्नुपर्ने उहाँको तर्क थियो। अबको समय भत्काउने नभई मुलुकलाई सही दिशामा डोर्याउने भएको उल्लेख गर्दै लामिछानेले भन्नुभयो, “रास्वपाले नेतृत्व लिएपछि सिंहदरबारको स्वरूप मात्र होइन, त्यहाँको कार्यशैली र जनतालाई हेर्ने दृष्टिकोण पनि आमूल परिवर्तन गर्नेछ।”
