Advertorial वीरगन्ज । झण्डै आधा शताब्दीको इतिहास बोकेको वीरगन्जको गौतम माध्यमिक विद्यालयले यतिबेला मधेस प्रदेशकै शैक्षिक जगतमा एउटा नयाँ मानक स्थापित गरेको छ।
स्थापनाको ४९ वर्ष पुग्दै गर्दा यो विद्यालय केवल अक्षर चिनाउने थलोमा मात्र सीमित रहेन, बरु बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूको सर्वाङ्गीण विकास गर्ने आधुनिक प्रयोगशालाका रूपमा दरिएको छ।
शिक्षामा नवप्रवर्तन Innovation in Education लाई आत्मसात् गर्दै इसीइसीसँगको सहकार्यमा सुरु गरिएको नयाँ शिक्षण पद्धतिले यहाँका साना बालबालिकाहरूमा अद्भूत परिवर्तन ल्याएको छ।

विद्यालयका निर्देशक सोनम लामाका अनुसार अहिलेका बालबालिकाहरू दबाबमा भन्दा पनि आफ्नो रुचि र भावना अनुसार सिक्न चाहन्छन्। यही कुरालाई मध्यनजर गर्दै विद्यालयले नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीका लागि ‘सहपाठ्यक्रम’ (सीसीए) क्रियाकलापलाई अनिवार्य बनाएको छ।

यसले विद्यार्थीहरूको मानसिक, शारीरिक र बौद्धिक विकासमा मात्र सुधार ल्याएको छैन, उनीहरूको आत्मबललाई समेत नयाँ उचाइमा पुर्याएको छ। ‘हामीले बालबालिकालाई दबाब दिएर होइन, माया र प्रेरणा दिएर सिक्ने वातावरण बनाएका छौं,’ प्रधानाध्यापक गणेश क्षेत्रीले भने । खेल्दै सिक्ने यो पद्धतिले गर्दा पहिले विद्यालय जान हिचकिचाउने बालबालिकाहरू अचेल उत्साहित भएर कक्षाकोठामा झुम्मिने गरेका छन्।

यो नवीन सिकाईको सुन्दर नतिजा हालै विद्यार्थीहरूले प्रदर्शन गरेको कला र प्रस्तुतिमा प्रष्ट देखिन्थ्यो। आधुनिक प्रविधिको बढ्दो प्रयोगले परिवारभित्र वृद्धवृद्धाहरू कसरी एक्लिँदै गएका छन् र त्यसले बालमस्तिष्कमा कस्तो असर पारेको छ भन्ने विषयलाई विद्यार्थीहरूले नाटक मार्फत निकै मार्मिक ढङ्गले प्रस्तुत गरे।
यति मात्र होइन, सामाजिक सद्भाव, संस्कार, र जलवायु परिवर्तन जस्ता गम्भीर विषयमा उनीहरूले देखाएको बुझाइ र प्रस्तुतिले उपस्थित सबैलाई चकित बनाएको थियो।

शिक्षा विकास समन्वय इकाई कार्यालयका प्रमुख भोती प्रसाद भट्टराईले यस उपलब्धिलाई शिक्षा क्षेत्रको ठूलो सफलताका रूपमा चित्रण गरेका छन् । उनले विद्यालयको प्रयासलाई प्रशंसा गर्दै अभिभावकहरूलाई पनि आफ्ना बालबालिकाको सिकाई प्रक्रियामा सक्रिय सहभागी हुन आग्रह गरे ।
उनले भने, ‘शुल्क तिरेपछि सबै जिम्मेवारी विद्यालयको मात्र हो भन्ने सोच त्यागेर अभिभावकले पनि शिक्षकसँग नियमित संवाद र समन्वय गर्न जरुरी छ ।’ वीरगन्जको यो उदाहरणले नेपालका अन्य विद्यालयहरूलाई पनि देखाएको छ कि यदि सिकाई पद्धतिमा थोरै मात्र सिर्जनशीलता मिसाउने हो भने हरेक बालबालिकाभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउन सम्भव छ।
