काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाताको विवरण झिकाउन आदेश दिएको छ।
अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासले पौडेलको नाममा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा रहेको रकमको विस्तृत विवरण मगाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो।
पौडेलले सफ्टवेयर खरिदमा घुस लिई २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेर सिंगापुर पठाएको आरोप छ। नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता सम्झौता नभएकाले, विवरण झिकाउन मिल्ने/नमिल्नेबारे अदालतले कानुन मन्त्रालयको राय समेत मागेको छ।
७ वर्षअघि खरिद गरिएका उपकरणहरू हाल प्रयोगमा छन् कि छैनन् भन्ने विवरण पेश गर्न पनि सरकारी निकायलाई आदेश दिइएको छ।
पौडेल हाल ‘नेसनल पेमेन्ट गेटवे’ भ्रष्टाचार प्रकरणमा दोषी ठहर भई जेलमै रहेका छन्।
