काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा अवरोध पुर्याउने जोकोहीलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। विभिन्न स्थानमा उम्मेदवार र राजनीतिक दलका कार्यक्रमहरूमा अवरोध सिर्जना भएको गुनासो आएपछि आयोगले यस्तो कदम चालेको हो।
निर्वाचन (कसुर तथा सजाय) ऐनलाई उद्धृत गर्दै आयोगले उम्मेदवारको प्रचारप्रसार वा मतदाताको मताधिकार प्रयोगमा अवरोध गर्ने व्यक्ति वा समूहलाई निम्न बमोजिमको कारबाही हुने स्पष्ट पारेको छ । निर्वाचन प्रक्रियामा अवरोध पुर्याउनेलाई अधिकतम रु. २ लाख सम्म जरिवाना, कसुरको गम्भीरता हेरी अधिकतम ३ वर्षसम्म कैद र प्रकृतिको आधारमा जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता बमोजिम कुनै पनि दल वा भातृ सङ्गठनले आयोजना गर्ने जुलुस, आमसभा वा कोणसभा बिथोल्न नपाइने उल्लेख छ। आयोगले हाल सूक्ष्म अनुगमन गरिरहेको र केही स्थानमा उम्मेदवार लक्षित अभद्र व्यवहारप्रति गम्भीर चासो व्यक्त गरेको छ।
“स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको साझा दायित्व हो। लोकतन्त्र विरोधी यस्ता कार्यमा आयोगले शून्य सहनशीलता अपनाउनेछ,” आयोगले भनेको छ।
मौन अवधि र मतदानको समय नजिकिँदै गर्दा आयोगले सुरक्षा व्यवस्थालाई थप कडा पारेको छ। यदि कसैले कानुनविपरीतका गतिविधि गरेमा वा प्रचारप्रसारमा बाधा पुर्याएमा तत्काल नजिकैको सुरक्षा निकाय वा सिधै आयोगमा जानकारी गराउन नागरिक समाज र आम मतदातालाई अपिल गरिएको छ।
