वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२०, पटेलनगरमा भव्य कोणसभा सम्पन्न गरेको छ। मङ्गलबार साँझ पटेलनगर चोकमा आयोजित उक्त सभामा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले पुराना राजनीतिक दल र नेताहरूले विगत ३६ वर्षदेखि नेपाली जनतालाई विभिन्न बहानामा झुक्याउँदै आएको आरोप लगाउनुभयो। पन्तले भन्नुभयो, “अब नेपाली जनता सचेत र जागरूक भइसकेका छन्, नेताहरूले अब जनतालाई झुक्याउने दिन सकिए। यसपटकको निर्वाचनमा क्षेत्र नम्बर १ का जनताले मलाई जिताएर पठाउनेमा म पूर्ण रूपमा ढुक्क छु।”
कार्यक्रममा सम्बोधन गर्दै अन्य वक्ताहरूले पनि देशमा सुशासन र परिवर्तनका लागि रास्वपाको विकल्प नरहेको कुरामा जोड दिएका थिए। कृष्ण पस्वानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रास्वपा नेताहरू जनार्दन सिंह, सगिर आलम, महुमुद्दिन अन्सारी र चन्दन यादव लगायतले आफ्ना धारणा राख्नुभएको थियो।
पटेलनगरका स्थानीयको उत्साहजनक उपस्थितिले क्षेत्रमा रास्वपाप्रतिको बढ्दो आकर्षणलाई थप स्पष्ट पारेको नेताहरूले दाबी गरेका छन्।
