वीरगन्ज | आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको संघारमा पर्सा क्षेत्र नम्बर १ को राजनीतिक समीकरणमा नयाँ तरंग उत्पन्न भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का स्थानीय भद्र-भलादमी तथा बुद्धिजीवीहरूको एक समूहले कुनै पनि दलमा प्रवेश नगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ चिह्नमा मतदान गर्ने ‘भद्र सहमति’ गरेका छन्।
हिजो अबेर राति स्थानीय शिव मन्दिरमा सम्पन्न बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तित्वहरूको सामूहिक बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागीहरूले आफूहरू हाल जुनकुनै राजनीतिक दलमा आबद्ध भए पनि यस पटक मुलुकको परिवर्तनका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर रास्वपालाई साथ दिने प्रतिबद्धता जनाएका छन्।
बैठकमा सहभागी बुद्धिजीवीहरूले विगत ३५ वर्षदेखि मुलुकमा जकडिएर रहेको कुशासन, भ्रष्टाचार, बेथिति र अनियमिततालाई निर्मूल पार्न नेतृत्व परिवर्तन अनिवार्य रहेको निष्कर्ष निकालेका छन्। “देश अहिले परिवर्तनको निर्णायक संघारमा छ,” सहभागी एक बुद्धिजीवीले भने, “अहिलेको अवस्थामा पार्टी भन्दा माथि उठेर देश र भविष्यका लागि सोच्नुपर्ने बेला आएकाले हामीले रास्वपा प्रवेश नगरे पनि घण्टीमा मतदान गर्ने निर्णय गरेका हौँ।”
स्थानीय स्तरमा बलियो प्रभाव राख्ने व्यक्तित्वहरूको यो ‘मौन समर्थन’ पछि पर्सा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार एवं जिल्ला सभापति हरि पन्तले उत्साह व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै पन्तले फरक विचार र सिद्धान्त बोकेका व्यक्तित्वहरूको यो स्वतःस्फूर्त साथले चुनावी नतिजामा ठूलो फेरबदल ल्याउने दाबी गरे।
पन्तले भने, “अब परिवर्तनको लहर घरघरमा पुगिसकेको छ। जनताले पुरानो शैलीको राजनीति होइन, इमानदार नेतृत्व र जवाफदेही शासन खोजेका छन्। यो समर्थनले हाम्रो जिम्मेवारी र उत्साह दुवै थपेको छ।”
विशेष गरी वीरगन्ज जस्तो व्यावसायिक र राजनीतिक चेतना भएको सहरमा बौद्धिक वर्गले खुल्ला रूपमा परिवर्तनको पक्षमा उभिने निर्णय गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। रास्वपाको संगठनात्मक उपस्थिति भन्दा पनि जनस्तरबाट प्राप्त यो ‘अदृश्य’ समर्थनले अन्य ठूला दलहरूलाई दबाबमा पारेको देखिन्छ। यसले पर्सा १ को चुनावी प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ।

