कलैया । नेपाल विद्युत् प्राधिकरण, कलैया वितरण केन्द्रका सिनियर मिटर रिडर शत्रुघ्न प्रसाद यादवमाथि विद्युत् चोरी नियन्त्रणको बहानामा सर्वसाधारणबाट अवैध रकम असुली गरेको गम्भीर आरोप लागेको छ। यादवले विशेष गरी ग्रामीण क्षेत्रका विपन्न उपभोक्तालाई लक्षित गरी ‘मिलापत्र’का नाममा लुट मच्चाएको तथ्य बाहिरिएको हो।
मिटर रिडिङ गर्ने क्रममा विद्युत् हुकिङ गरेको आरोप लगाउँदै घरायसी मोटरहरू जफत गर्ने र पछि मोटो रकम लिएर मात्र फिर्ता गर्ने गरेको स्थानीयको गुनासो छ। आफूलाई कार्यालय प्रमुखको निकट व्यक्ति दाबी गर्दै उनले उपभोक्तालाई कानुनी मुद्दाको डर देखाएर दबाबमा पार्ने गरेका थिए। जफत गरिएका सामग्री कार्यालयमा बुझाउनुको सट्टा आफ्नै नियन्त्रणमा राखेर पैसाको बार्गेनिङ गर्ने गरिएको पाइएको छ।
घटना सार्वजनिक भएपछि कलैया वितरण केन्द्रका प्रमुख हिमान्सु प्रसाद यादवले आरोपित कर्मचारीलाई तत्काल रकम फिर्ता गर्न र जफत गरिएका सामान कार्यालयमा बुझाउन निर्देशन दिएका छन्। प्रमुख यादवले यस घटनाको आन्तरिक छानबिन भइरहेको र दोषी पाइएमा कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
कर्मचारीको यस्तो हर्कतले सरकारी निकायप्रतिको जनविश्वास धराशायी भएको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।
