काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनको स्वच्छतामाथि प्रविधिको दुरुपयोगले गम्भीर चुनौती थप्न सक्ने भन्दै सरोकारवालाहरूलाई सचेत गराएको छ। विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित भ्रामक सामग्रीले निर्वाचनको निष्पक्षतालाई धराशायी बनाउन सक्ने आयोगको ठम्याइ छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन आम सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ।
प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी बनाइएका ‘डीपफेक’ (Deepfake) भिडियो, अडियो र फोटोहरूले मतदातालाई दिग्भ्रमित पार्ने जोखिम बढेको छ। आयोगले निर्वाचनलाई मर्यादित र विश्वासिलो बनाउन यस्ता सामग्रीहरू सामाजिक सञ्जालमा राख्न र फैलाउन पूर्ण प्रतिबन्ध लगाएको छ।
सूचनाको विश्वसनीयता परीक्षण नगरी सामग्री सम्प्रेषण नगर्न आम सञ्चारमाध्यमलाई विशेष अनुरोध गरिएको छ। निर्वाचन आचारसंहिता विपरीत प्रविधिको दुरुपयोग गरी चरित्र हत्या गर्ने वा भ्रामक सन्देश फैलाउनेलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ।
“प्रविधिको प्रयोग निर्वाचनलाई सहज बनाउन गरिनुपर्छ, न कि यसलाई बिथोल्न। एआईबाट निर्मित भ्रामक सामग्रीले लोकतन्त्रको आधारभूत स्तम्भ मानिने निर्वाचनको निष्पक्षतामाथि प्रहार गर्न सक्छ।” — रामप्रसाद भण्डारी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
आयोगले सामाजिक सञ्जालका कम्पनीहरूसँगको समन्वयमा यस्ता भ्रामक सामग्रीहरूको निगरानी गरिरहेको र दोषी पाइएमा निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।
