वीरगन्ज । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन विस्तारलाई तीव्र पारेको छ। मंगलबार पर्साको टेंढामा आयोजित एक बृहत् कार्यक्रमका बीच विभिन्न राजनीतिक दल परित्याग गरी ५ सयभन्दा बढी व्यक्तिहरू रास्वपामा प्रवेश गरेका छन्।
परिवर्तनका लागि रास्वपा रोजेको उद्घोष पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूले पुराना राजनीतिक दलहरूबाट देशको विकास र समृद्धि सम्भव नभएको भन्दै अबको विकल्प रास्वपा मात्रै भएको बताएका छन्। “देशले अहिले आमूल परिवर्तन मागेको छ, र त्यो परिवर्तनको संवाहक राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हुन सक्छ भन्ने विश्वासका साथ हामी यो अभियानमा जोडिएका हौँ,” नवप्रवेशीहरूले सामूहिक प्रतिबद्धता जनाए।
‘मुलुक रास्वपामय भइसक्यो’ – हरि पन्त कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं उम्मेदवार हरि पन्तले अबको सरकार रास्वपाले बहुमतका साथ बनाउने दाबी गरे। उनले ‘जेन्जी बिद्रोह’ (Gen Z Rebellion) का कारण विस्थापित भएका तत्कालीन सत्ताधारी दलहरू नै मुलुकको विकासका बाधक भएको आरोप लगाए।
सभापति पन्तले भने, “मुलुकभर रास्वपाको लहर छाएको छ। पुराना दलहरूको कार्यशैलीबाट आजित भएका जनताले अब विकल्प खोजिसकेका छन्। त्यसैले आगामी निर्वाचनमा हाम्रो जित सुनिश्चित छ।”
कार्यक्रमका सहभागीहरू विशाल कुशवाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा टेंढाका स्थानीय भद्र-भलादमीहरू साकिर हुसेन र अबुलेश हुसेन लगायतको उपस्थिति थियो।
उक्त अवसरमा सगिर आलम, पूर्ण सापकोटा, मनिष यादव, कमला भुजेल र चन्दन यादव लगायतका नेताहरूले सम्बोधन गर्दै पार्टीको नीति र आगामी योजनाबारे प्रस्ट पारेका थिए।

