जनकपुरधाम । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र आज मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गर्दैछ। पार्टीले मधेशलाई केन्द्रमा राखेर औपचारिक शक्ति प्रदर्शनसहित घोषणापत्र सार्वजनिक गर्न लागेको हो।
मधेश प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादवका अनुसार, जनकपुरधाममा आयोजना हुने ‘प्रतिज्ञा सभा’ को सम्पूर्ण तयारी पूरा भएको छ। यो सभालाई कांग्रेसले आफ्नो चुनावी अभियानको मुख्य प्रस्थानविन्दु मानेको छ।
सभालाई पार्टी सभापति गगन थापालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। सभापति थापा आफैँ मधेश (सर्लाही निर्वाचन क्षेत्र नं. ४) बाट उम्मेदवार रहेकाले यस कार्यक्रमलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ।
मधेशका आठवटै जिल्लाबाट नेता तथा कार्यकर्ताहरूलाई परिचालन गरिएको छ। कम्तीमा एक लाख नागरिक उतार्ने लक्ष्यसहित व्यवस्थापन मिलाइएको आयोजकको दाबी छ। ‘भिजन–१०’ नाम दिइएको यस घोषणापत्रमा मधेशको आर्थिक र सामाजिक रूपान्तरणलाई विशेष जोड दिइएको छ। जसमा कृषि आधुनिकीकरण, सिँचाइ र भण्डारण पूर्वाधार विस्तार, बेरोजगारी समस्या समाधान र रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार र सुशासन र लगानीमैत्री वातावरणको निर्माण विषयलाई मुख्य एजेन्डा बनाइएको बताइएको छ ।
“मधेशको समृद्धिविना राष्ट्रिय समृद्धि सम्भव छैन भन्ने दृष्टिकोणका साथ हामीले नीति तथा कार्यक्रम तयार पारेका छौँ। यो घोषणापत्र केवल दस्तावेज मात्र नभई जनतासँगको प्रतिज्ञा हो।” — कृष्णप्रसाद यादव, मुख्यमन्त्री तथा मधेश प्रदेश सभापति, नेपाली कांग्रेस
जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ भने बाहिरी जिल्लाबाट आउने सहभागीहरूका लागि यातायातको विशेष प्रबन्ध गरिएको छ। यो कार्यक्रममार्फत कांग्रेसले मधेशमा आफ्नो बलियो पकड रहेको सन्देश दिन खोजेको देखिन्छ।
