काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो।
आयोगका अनुसार आम नागरिकलाई मताधिकारको महत्व तथा मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। आजदेखि सुरु भएको यो कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ।
कार्यक्रमका लागि प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। ती स्वयंसेवकले मतदाताको बस्ती र घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने आयोगले जनाएको छ।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता वृद्धि गर्नुका साथै बदर मतको अनुपात घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगको छ।
यस कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धा गर्ने राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सबै सरोकारवालासँग सहयोगका लागि अनुरोध गरिएको आयोगका सहायक प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
