काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसअघि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा नयाँ चुनावी घोषणापत्रमा समावेश नगरी मौन बसेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषय उल्लेख गरिएको छैन। यसबारे राप्रपा प्रवक्ता मोहन श्रेष्ठ ले घोषणापत्र उक्त विषयमा मौन रहेको जानकारी दिएका छन्।
यसअघि राप्रपाले राजसंस्थाको पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि सार्दै आएको थियो। तर, पछिल्लो घोषणापत्रमा भने पार्टीले शासकीय स्वरूपमा ‘अभिभावकीय संस्था’का रूपमा राजसंस्थाको पुनःस्थापना, खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक सुधार, प्रदेश संरचनाको खारेजी तथा केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको शासकीय संरचना प्रस्ताव गरेको छ।
यस्तै, सर्वधर्म समभावसहितको धार्मिक स्वतन्त्रता, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणा र गैरदलीय स्थानीय तहको व्यवस्था पनि घोषणापत्रका प्रमुख एजेन्डामा समेटिएका छन्।
राप्रपाले आफ्नो भावी गन्तव्यका रूपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल – पृथ्वी पथ’ लाई अघि सारेको छ।
