काठमाडौं । ज्ञानेन्द्र शाह झापा र जनकपुर बसाइपछि आज शुक्रबार दिउँसो १२ बजे काठमाडौं फर्कँदै छन्। प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको यो फिर्तीलाई राजावादी समूहहरूले शक्ति प्रदर्शनको रूपमा लिएका छन्।
संभावित भीडलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘गोल्डेन गेट’ भित्र एक महिने निषेधाज्ञा जारी गरेको छ। पाँच जनाभन्दा बढी भेला, जुलुस र प्रदर्शनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी, दुर्गा प्रसाईं नेतृत्वको महाअभियान र संयुक्त जनआन्दोलन समितिले स्वागतका लागि कार्यकर्ता परिचालन गरेका छन्। प्रसाईंले निषेधाज्ञा तोडेरै स्वागत गर्ने चेतावनी दिएका छन्।
यसैबीच निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भए उम्मेदवारी खारेजसम्म हुन सक्ने चेतावनी दिँदै गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। गत वर्ष पोखराबाट फर्कँदा भएको झडपको पृष्ठभूमिमा यसपटक विमानस्थल आसपास कडा सुरक्षा व्यवस्था गरिएको छ।
