धरान । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धरानको खानेपानी, विद्युत् र समग्र भौतिक पूर्वाधार विकास आफ्नो पार्टीको नेतृत्वमा मात्र सम्भव हुने दाबी गरेका छन्।
बिहीबार धरानको भानुचौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले धरानले वर्षौंदेखि भोग्दै आएका खानेपानी अभाव, अनियमित विद्युत् आपूर्ति र अव्यवस्थित शहरी पूर्वाधारका समस्या समाधानका लागि उज्यालो नेपाल पार्टीलाई पूर्ण समर्थन गर्न आह्वान गरे।
घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दा हासिल गरेको अनुभव र व्यवस्थापन क्षमतालाई अब देश निर्माण र सुशासनको अभियानमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
“हामीले अँध्यारो हटाएर बत्ती फर्कायौँ, अब देश निर्माणका लागि सुशासन र समृद्धिको उज्यालो फैलाउने बेला आएको छ,” उनले भने।
उनका अनुसार धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, विद्युत् आपूर्ति थप व्यवस्थित बनाउने तथा गुणस्तरीय सडक र अन्य भौतिक पूर्वाधार निर्माण पार्टीको मुख्य एजेन्डा रहनेछ।
घिसिङले परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गरे।
सभाअघि घिसिङले धरान–१५, श्याम चोकमा उज्यालो नेपाल पार्टीको कोसी प्रदेश सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए। सो अवसरमा उनले पार्टीलाई टोल–टोलसम्म विस्तार गर्दै आगामी निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने योजना सुनाए।
कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

