वीरगन्ज । झण्डै पाँच दशकको शैक्षिक इतिहास बोकेको वीरगन्जको गौतम माध्यामिक विद्यालयमा विभिन्न कक्षाका विद्यार्थीहरुको सहभागितामा सांस्कृतिक खाना महोत्सव र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा आयोजना गरिएको सांस्कृतिक खाना महोत्सव र नृत्य प्रतियोगितामा विद्यार्थीहरुको रचनात्मक प्रस्तुती देखेर उपस्थित अभिभावकहरु र अतिथिहरु दंग परेका थिए ।
सांस्कृतिक खाना महोत्सवमा विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले तयार गरेको विभिन्न समुदायका खानाका परिकारहरुको प्रदर्शनीले अभिभावक र अतिथिहरुको मन लोभ्याएको थियो ।

उनीहरुले बनाएको परिकार खाएपछि खानाको स्वादिष्टपनाले उपस्थित अभिभावक र अतिथिहरु मख्ख परेका थिए । आफ्ना बालबालिकाहरुलाई घरमा अध्ययनलाई मात्रै प्राथामिकता दिएर अन्य काममा सहभागी नगराउने गरेका अभिभावकहरुले आफ्ना बालबालिकाहरुको प्रतिभा र क्षमता हेरेर हर्षित भएका थिए ।
त्यस्तै सांस्कृति नृत्य प्रतियोगिताले उपस्थित अतिथि र अभिभावकहरुलाई थप मनोरञ्जन दिनुका साथै मन आनन्दित बनाएको थियो । कक्षा सातमा अध्ययनरत विद्यार्थीहरुले नेपालका विभिन्न क्षेत्रमा बसोवास गर्ने समुदायमा प्रचलित सांस्कृति नृत्य प्रस्तुतिले नेपालका विविधताबीचको एकतामा अभिभावकहरुको पनि चासो बढाएको थियो ।

कुनै नृत्य प्रशिक्षक बिना विद्यार्थीहरुले आफै प्रशिक्षक र आफै नृत्य गरेर प्रस्तुत गरिएको नृत्य प्रतियोगिता निक्कै आकर्षित र लोभलाग्दो थियो । नृत्य प्रतियोगितामा मगर, तामाङ, थारु, मैथिली, साकेला र नेवारी थियो ।
त्यसमध्य तामाङ सेलो प्रथम, साकेला दोस्रो र कौडा नृत्य तेस्रो भएको थियो । विद्यालयको सामाजिक अध्ययन विषय अन्तर्गत विद्यार्थीहरुलाई नेपालका जातजाति, भाषाभाषी र समुदायको संस्कृति, रितीरिवाज र चालचलनको बारेमा जानकारी गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले जानकारी दिए ।

सांस्कृतिक उत्सव २०८२ को दोस्रो दिन कक्षा ७ र ८ का विद्यार्थीहरूको भव्य र उत्साहजनक प्रस्तुतिसँगै सफलतापूर्वक सम्पन्न भएको छ। यस विशेष दिनमा विद्यार्थीहरूले परम्परागत भेषभूषामा सजिएर मनमोहक सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्दै उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए। उनीहरूको प्रत्येक कदम र हाउभाउमा आत्मविश्वास झल्किन्थ्यो भने मञ्चमा हाम्रो गौरवशाली सम्पदा र एकताको सुन्दर दृश्य देखिएको थियो।

उपस्थित अतिथिहरूले विद्यार्थीहरूको कला र प्रतिभाको मुक्तकण्ठले प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए । अतिथिको गरिमामय उपस्थितिले कलिला कलाकारहरूको मनोबल थप उच्च बनाएको थियो।
यो भव्य कार्यक्रमको परिकल्पना र नेतृत्व गर्ने सामाजिक अध्ययन ९क्क्त्० विभागको योगदान अतुलनीय रहेको छ। कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नुहुने सम्पूर्ण शिक्षक-शिक्षिका, कर्मचारी र अभिभावकहरूप्रति आयोजकले हार्दिक आभार प्रकट गरेको छ।

सांस्कृतिक उत्सवको दोस्रो दिन केवल एक प्रदर्शन मात्र नभई यो हाम्रो संस्कृति, आत्मविश्वास र सामूहिक एकताको एउटा गौरवपूर्ण उत्सवका रूपमा स्मरणीय रहन पुगेको विद्यालयकी प्रबन्ध निर्देशक परीक्षा पिया लामाले बताईन्।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी प्रबन्ध निर्देशक परीक्षा पिया लामा, निर्देशक सोनाम लामा, नेशनल इन्फोटेक कलेजकी फाईनान्स डाईरेक्टर काजल सिंह, गौतम माविका प्रशासन प्रमुख रमेश शर्मा, व्यावस्थापन समिति सदस्य एल्विन रेञ्जर, सामाजिक विषय अध्ययन विभाग प्रमुख दिनेश क्षेत्री लगायत विद्यालयका शिक्षक, शिक्षिका, अभिभावकहरु र सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
