काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथको मुख्य पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी पूरा गरेको जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कोषले यस वर्ष फागुन ३ गते (फेब्रुअरी १५) परेको महाशिवरात्रिमा दर्शनार्थीहरूको सहजताका लागि चारवटा छुट्टाछुट्टै दर्शन मार्ग निर्धारण गरिएको जानकारी दिएको हो।
दर्शनार्थीहरूको अत्यधिक चापलाई मध्यनजर गर्दै विभिन्न स्थानबाट आउने भक्तजनका लागि अलग–अलग प्रवेश मार्ग तय गरिएको कोषले जनाएको छ।
निर्धारित दर्शन मार्गहरू यसप्रकार छन्:
गौशाला–पिंगलास्थान गेट: मैतीदेवी, वत्तिसपुतली र पुरानो बानेश्वरतर्फबाट आउने भक्तजनहरूका लागि।
राम मन्दिर–आर्यघाट मार्ग: भक्तपुर, ललितपुर, कोटेश्वर र तिनकुने क्षेत्रबाट आउनेहरूका लागि।
गौरीघाट मार्ग: जोरपाटी, कपन र चाबहिल क्षेत्रबाट आउने भक्तजनहरूका लागि।
जयबागेश्वरी मार्ग: रातोपुल र कालोपुल क्षेत्रबाट आउनेहरूका लागि।
कोषका अनुसार भक्तजनलाई लामो समय लाइनमा बस्न नपर्ने गरी स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिनेछ। मन्दिर क्षेत्रमा रङरोगन, सरसफाइ तथा बिजुली बत्तीको सजावटको काम तीव्र रूपमा अघि बढाइएको छ।
महाशिवरात्रि व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरी सुरक्षा, स्वास्थ्य शिविर, खानेपानी तथा आवासको व्यवस्था मिलाइएको कोषले जनाएको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट साधुसन्तहरूको आगमन सुरु भइसकेको छ। उनीहरूका लागि गुठी संस्थानमार्फत भोजन तथा धुनीको उचित प्रबन्ध गरिएको जानकारी दिइएको छ।
कोषले सबै दर्शनार्थीहरूलाई तोकिएका आधिकारिक मार्गको प्रयोग गर्न र सुरक्षा निकायले जारी गर्ने निर्देशनहरूको पालना गर्न अनुरोध गरेको छ।
