वीरगन्ज । पर्सा–१ को चुनावी मैदान यसपटक निकै रोचक बन्ने भएको छ। मधेशवादी राजनीतिबाट उदाएका प्रदीप यादव अहिले कम्युनिष्ट कित्ताको नेकपा एमालेबाट सूर्य चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्, जसले यस क्षेत्रको पुराना मत समीकरणहरूलाई पूर्णतः उथलपुथल पारिदिएको छ।
२०७४ को निर्वाचनमा २१,१३२ मत ल्याएर संसद् यात्रा सुरु गरेका यादवले २०७९ मा एमालेसँगकै तालमेलमा २२,५३७ मत प्राप्त गरी झिनो मतान्तरले जित निकाल्न सफल भएका थिए। तर, यसपटकको परिस्थिति भिन्न छ। हिजो एउटै पार्टीमा रहँदा मतभेद भएर कट्टर राजनीतिक दुश्मनको रुपमा रहेका विजय कुमार सरावगी र यादव अहिले एउटै पार्टी नेकपा एमालेमा छन् ।
विगतमा वीरगन्ज महानगरपालिकाको मेयर हुँदा सरावगी र यादवबीच देखिएको सम्बन्धको तिक्तता यस निर्वाचनमा कसरी व्यवस्थापन हुन्छ भन्ने कुराले नै यादवको भविष्य तय गर्ने देखिन्छ। बाहिरी रुपमा हेर्दा सरावगीको यादवलाई जिताउने देखाएको सक्रियतालाई सकारात्मक रहेपनि यादवको राजनीतिमा परिवर्तित छवि उनको लागि नकारात्मक देखिएको छ ।
यसपटकको सबैभन्दा ठूलो शक्ति वीरगन्जका वर्तमान मेयर राजेशमान सिंहको साथ हो। २०७९ को स्थानीय तह निर्वाचनमा ४६,२१५ मत ल्याएर जित दर्ता गरेका थिए । जसपा नेपालबाट मेयर बनेका सिंहलाई त्यतिखेर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी लगायतका पाँच दलीय गठबन्धनको साथ थियो । यादव एमालेमा प्रवेश गरेपछि तत्कालीन जसपाका ८ जना वडा अध्यक्षहरू अहिले यादवकै पक्षमा उभिएका छन्।
यसका साथै एमालेका आफ्नै ५ जना वडा अध्यक्षहरूको मत पनि यादवको खातामा जोडिँदा गणितीय रूपमा उनी निकै बलियो देखिन्छन्। तर, राजनीतिक यात्रामा छोटो समयमै जसपा नेपाल, जसपा (अशोक राई) हुँदै रास्वपा र नेकपामा प्रवेश गर्ने प्रयास गरेर अन्त्यमा एमालेमा ओत लाग्नुपर्ने बाध्यताले उनको छविमाथि भने प्रश्न उठाएको छ।
विशेषगरी जेन्जी आन्दोलनपछिको बदलिएको राजनीतिक माहोल र फागुन २१ को निर्वाचनको घोषणाले मतदातामा केही हदसम्म ‘नयाँ अनुहार’ प्रतिको मोह पनि देखिएको छ। १८ वटा वडामध्ये १३ वटामा आफ्नो पक्षका अध्यक्षहरू हुँदाहुँदै पनि दलीय निष्ठा र व्यक्तिगत साखको द्वन्द्वले यादवलाई चुनावी परिणाममा चुनौती थप्न सक्छ।
यसपटकको निर्वाचन यादवका लागि केवल संसद्को यात्रा मात्र नभएर उनको राजनीतिक इमान्दारिता र वीरगन्जमाथिको पकडको ठूलो अग्निपरीक्षा समेत हो। यादवलाई आफ्नै भित्र व्यावस्थापनको चुनौतीको बाबजुद प्रतिस्पर्धी दल र उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले जटिल देखिन्छ ।
यसपटक ‘अंकगणित’ र ‘मनोविज्ञान’ को रोचक मिश्रणले मतपरिणाम कस्तो आउला भन्ने कौतुहल्ता जागेको छ । त्यसको लागि यहाँ वडागत मत विभाजन र उम्मेदवारहरूको प्रभावको प्राविधिक विश्लेषण जरुरी छ । वीरगन्ज महानगरका १८ वटा वडाहरू यस निर्वाचन क्षेत्रमा पर्छन्।
२०७९ को स्थानीय निर्वाचनको मत परिणाम र वर्तमान दलीय आबद्धतालाई हेर्दा एमाले (प्रदीप यादव पक्ष) वर्तमान मेयर राजेशमान सिंहको व्यक्तिगत प्रभाव र एमालेका ५ वटा वडा अध्यक्षहरूको संगठन यादवको मुख्य शक्ति हो। तर, मेयर राजेशमान सिंह औपचारिक रुपमा एमालेमा प्रवेश नगरेको एमालेकै नेताहरुको सामजिक सञ्जालमा देखिएको अभिव्यक्तिले पनि यादवलाई मत आउने हो कि नआउने हो भन्ने संशय छ ।
मतदाताहरुले ‘मन्त्री जीके बात छोडी अपने अपन बात करी’ भनेर मेयर सिंह निकटका व्यक्तिहरुले भन्ने गरेका छन्। यसले पनि मेयर सिंह यादवकै पक्षमा रहेपनि मतदाताहरुले भने उनलाई मत दिन्छन् कि दिदैनन् भन्ने यकिन छैन ।
जसपाबाट एमालेमा आएका ८ वडा अध्यक्षहरूको मत पनि उनीसँगै जोडिएको छ। यसरी हेर्दा १३ वडाको संस्थापन मत प्रदीप यादवको पक्षमा देखिन्छ। २०७४ को निर्वाचनको मत परिणामको आधारमा नेपाली कांग्रेस अनिल रुङ्गटाले पाएको मत १६४८१ हो । त्यसबेलाको मतान्तर यादवको १४०५ मात्रै छ । जबकी त्यतिखेर मधेस आन्दोलनको लहर र रापताप थियो । तर, अहिले अवस्था फरक छ ।
मधेसवादी दलका नेतृत्वहरुले आफ्न मत होल्ड गर्न सकेको छैन । जसपा नेपाल प्रदीप यादवले पार्टी छोडेपछि उपेन्द्र यादवले रामनरेश यादव आफ्ना कार्यकर्तालाई रामनरेशको पक्षमा उभ्याएको छ। यसले प्रदीप यादवको ‘कोर मधेशी’ मतमा करिब १५–२० प्रतिशत सम्म कटौती गर्न सक्ने सम्भावना छ। सामाजिक र राजनीतिमा पूराना अनुभवी र शालिन व्यक्तित्व तथा मधेसी सेन्टीमेण्टले पनि रामनरेश यादवप्रति यसक्षेत्रका ‘कोर मधेसी’ मत रहन्छ ।
अर्कोतर्फ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी र राप्रपाका उम्मेदवाहरू पनि प्रदीप यादव र अनिल रुङ्गटा दुवैका लागि टाउको दुखाइ बनेको छन् ।गत निर्वाचनमा २१ हजारभन्दा बढी मत ल्याएका अजय द्विवेदी यसपटक मैदानमा नभए पनि, उनी पक्षधर मतदाताहरू अहिले तितरबितर छन्। तीमध्ये एक हिस्सा कांग्रेसमा फर्किएका छन् भने अर्को हिस्सा रास्वपाका उम्मेदवारतर्फ आकर्षित छन्।
भदौ २०८२ को ‘जेन्जी’ आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताले मतदाताको मनोविज्ञानमा केही परिवर्तन ल्याएको छ। प्रदीप यादवको पक्षमा वीरगन्जको संस्थापन शक्ति (मेयर र वडा अध्यक्षहरू) को बलियो मोर्चा छ। तर, जसपा नेपाल भनेर प्रदीप यादवलाई मत दिनेहरुको भित्री असन्तुष्टिसँगै, एमालेका पुराना कार्यकर्ता र विजय सरावगीका समर्थकहरूले उनलाई पूर्ण रूपमा स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुराले नै जित–हारको अन्तिम फैसला गर्नेछ।

