वीरगञ्ज । आगामी निर्वाचनको मिति नजिकिएसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल निकै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्त यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् भने काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह वीरगञ्ज आउने चर्चाले स्थानीय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।
रास्वपा उम्मेदवार हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न वडाहरूमा चुनावी अभियानलाई तीव्रता दिएका छन्। यसै क्रममा आज वीरगञ्जको सुखचैनामा आयोजित जनसम्पर्क तथा भेटघाट कार्यक्रममा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा मतदाताहरूले पन्तप्रति उत्साहजनक समर्थन जनाएका छन्। घरदैलोका क्रममा पन्तले जनताका गुनासो सुन्दै आफ्नो एजेन्डाहरू प्रष्ट पारेका थिए। ‘हामी जनताको घरआँगनमै पुगेर उहाँहरूका समस्या बुझिरहेका छौं र आगामी दिनमा पनि यो अभियान सबै वडाहरूमा निरन्तर रहनेछ’ पन्तले बताए।
यसैबीच, वीरगञ्जमा स्वतन्त्र राजनीति र वैकल्पिक शक्तिका समर्थकहरू माझ बालेनको सम्भावित आगमनलाई लिएर ठूलो चर्चा सुरु भएको छ। काठमाडौंका पूर्व मेयर शाह वीरगञ्ज आउने तयारीमा रहेको खबर सार्वजनिक भएपछि राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
बालेनको आगमनले खासगरी युवा मतदाता र वैकल्पिक राजनीतिको पक्षमा रहेका आम नागरिकमा थप उत्साह थपेको छ। उनी वीरगञ्ज आउँदा रास्वपा र अन्य स्वतन्त्र लहरलाई कस्तो प्रभाव पर्छ भन्ने विषयमा अहिले चिया पसलदेखि राजनीतिक मञ्चसम्म बहस सुरु भएको छ।
हरि पन्तको सक्रियता र बालेन शाहको आगमनको चर्चाले पर्सा १ को चुनावी माहोललाई थप चासोपूर्ण बनाएको छ। रास्वपाले आफ्नो संगठन विस्तार र घरदैलोलाई सशक्त बनाउँदै गर्दा अन्य दलहरू पनि आफ्नो रणनीति पुनरावलोकन गर्न बाध्य भएका छन्।

