वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का प्रभावशाली युवा नेता तथा वडा अध्यक्षका पूर्वप्रत्यासी महमुद अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मधेस आन्दोलनबाट राजनीतिक पहिचान बनाएका अन्सारी आफ्नो प्रखर तार्किक क्षमता र युवाहरूमाझको बलियो पकडका कारण वीरगन्जमा परिचित छन्।
अन्सारीले २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडा नम्बर १२ मा वडा अध्यक्षको उम्मेदवारी दिएका थिए, जहाँ उनले ६११ मत प्राप्त गरी आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएका थिए।
अन्सारीको नेतृत्वमा एक टोली नै रास्वपाका उम्मेदवार हरि पन्तलाई विजयी गराउन चुनावी मैदानमा उत्रिएको छ। रास्वपामा प्रवेश गरी पन्तलाई साथ दिनेहरूमा अन्सारी सहित सम्सुल अन्सारी, मक्सुद अन्सारी, बच्चु यादव लगायतका युवा नेताहरू रहेका छन्।
रास्वपा पर्साका सभापति एवं क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तसँगको भेटघाट र छलफलपछि अन्सारी समूहले उनलाई सघाउने औपचारिक निर्णय गरेको हो। अन्सारीले पन्तको एजेण्डा र रास्वपाको विचारसँग आफूहरू सहमत रहेको बताउँदै उनलाई विजयी गराउन आजैदेखि विशेष अभियान सुरु गरिएको जानकारी दिएका छन्।
मधेस आन्दोलनका समयमा सडकमा प्रभावशाली भूमिका खेलेका अन्सारीको यो कदमले वीरगन्जको स्थानीय राजनीति र आगामी निर्वाचनमा रास्वपाको पक्षमा नयाँ समीकरण बन्ने देखिएको छ।

