वीरगन्ज । फागुन २१ गतेका लागि निश्चित भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा रोचक प्रतिस्पर्धा देखिएको छ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट उद्योगी अनिल रुंगटा र नेकपा एमालेबाट प्रदीप यादव जस्ता ‘ह्यावीवेट’ उम्मेदवारहरू चुनावी मैदानमा छन्।
तर, देशभर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ लहर र युवाहरूको नयाँ राजनीतिक रोजाइले पुराना र स्थापित नेताहरूलाई कडा चुनौती दिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा २०७० सालको संविधानसभा सदस्य हुन्। पार्टीको शीर्ष नेतृत्व र सभापति शेरबहादुर देउवाको ‘किचेन क्याबिनेट’ सम्म पहुँच भएका रुंगटालाई मतदाताले चुनावको बेला मात्र देखापर्ने र भुँइतहका मानिसहरूसँग घुलमिल नहुने नेताका रूपमा चिन्ने गरेका छन्।
यसले गर्दा उनीप्रति मतदाताको विश्वासमा कमी आएको पाइन्छ। अर्कातर्फ, नेकपा एमालेका उम्मेदवार प्रदीप यादवमाथि अवसरवादी नेताको छवि बनेको छ।
राप्रपाबाट राजनीति सुरु गरी मधेस आन्दोलनपछि मधेस केन्द्रित दल हुँदै अहिले एमालेमा प्रवेश गरेका यादवको राजनीतिक अस्थिरताप्रति उनका पुराना सहानुभूति राख्ने मतदाताहरू समेत रुष्ट देखिएका छन्। विगतमा एमाले नेतृत्वप्रति उनले दिएका कडा अभिव्यक्तिहरू नै अहिले उनका लागि चुनावी ‘गलपासो’ बन्न सक्ने देखिएको छ।
यही राजनीतिक खिचातानीका बीच राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति बुद्धिप्रसाद पन्त (हरि) लाई उम्मेदवार बनाएको छ। ‘जेनजी’ आन्दोलनपछि युवाहरूको आकर्षण बनेको रास्वपामा काठमाडौंका बालेन शाहको इन्ट्रीले थप ऊर्जा थपेको छ।
मतदाताहरूको मनसाय बुझ्न देश दौडाहामा रहेका बालेनको क्रेज देखेर पर्साका मतदाताहरूले यसपटक घण्टी छापमा खुलेरै मत हाल्ने प्रतिक्रिया दिन थालेका छन्। नयाँ शक्तिको यो उदयले कांग्रेस र एमालेका स्थापित उम्मेदवारहरूलाई रक्षात्मक अवस्थामा पुर्याएको छ।
प्रतिस्पर्धा यतिमा मात्र सीमित छैन। नेकपा एमालेकै अर्का उम्मेदवार अजय चौरसिया, राप्रपाका नवलकिशोर (नन्दु) श्रीवास्तव र जसपा नेपालका रामनरेश यादवको उपस्थितिले पनि चुनावी नतिजालाई प्रभाव पार्ने निश्चित छ।
पर्साको क्षेत्र नम्बर १ मा धार्मिक मुद्दाका कारण मतदाताहरु राजसंस्था सहितको हिन्दु राष्ट्रको मुद्दालाई अगाडि सारेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उम्मेदवारको मत बढ्न सक्ने सम्भावना छ ।
राप्रपाका उम्मेदवार नन्दु श्रीवास्तव २०७४ सालमा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वीरगन्जका चर्चित अनुहार विमल प्रसाद श्रीवास्तवका भाई हुन् । विमल श्रीवास्तवको वीरगन्ज महानगरपालिकामा राम्रै प्रभाव रहेकोले पनि केही मत थप गर्न सक्ने आंकलन छ ।
२०७४ र २०७९ को निर्वाचनमा जित निकालेका प्रदीप यादवका लागि यसपटक आफ्नै पार्टी भित्रको आन्तरिक द्वन्द्व र आम नागरिकको एमालेप्रतिको नकारात्मक धारणा विजयको बाधक बन्न सक्छ।
त्यसैगरी, कांग्रेसका रुंगटालाई पनि पार्टीभित्रको आन्तरिक कलह र विगतका असहयोगको बदला लिन खोज्ने समूहले अप्ठ्यारो पार्ने सम्भावना प्रवल छ।
साना दलका उम्मेदवारले जनमत होल्ड गर्ने र नयाँ शक्तिप्रतिको बढ्दो झुकावका कारण पर्सा–१ मा यसपटकको निर्वाचन ‘ह्यावीवेट’ हरूका लागि प्रतिष्ठाको लडाइँ र निकै सकसपूर्ण हुने देखिएको छ। यद्यपि यसको निर्णय मतदाताको हातमा छ । त्यो भने फागुन २१ गतेको मतदानपछि हुने मतगणनाको परिणामले नै स्पष्ट गर्नेछ ।
