वीरगंज, २८ माघ | वीरगंज महानगरपालिका वडा नं. ३२, टेढास्थित श्रीमती मनमिश्रा आधारभूत विद्यालयका बालबालिकाहरूको शैक्षिक वातावरण सुधार्ने उद्देश्यले उपकार सेवा नेपालले महत्वपूर्ण सहयोग पुर्याएको छ।
विद्यालयमा अध्ययनरत बालकक्षाका ९८ जना विद्यार्थीहरूलाई भुइँमा बसेर पढ्न सहज होस् भन्ने हेतुले संस्थाको पूर्ण आर्थिक सहयोगमा ६३० स्क्वायर फिट यती कार्पेट जडान गरी हस्तान्तरण गरिएको हो।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त कार्पेट दुईवटा कक्षाकोठामा ओछ्याएर विद्यार्थीहरूलाई हस्तान्तरण गरियो। यसअघि चिसो भुइँमा बसेर पढ्नुपर्ने बाध्यता रहेका साना बालबालिकाहरू अब कार्पेटमा बसेर सहजै अध्ययन गर्न पाउने भएका छन्।
हस्तान्तरण कार्यक्रममा राजाराम साह प्रधानाध्यापक, श्रीमती मनमिश्रा आ. बि., विद्या कुमारी सरावगी अध्यक्ष उपकार सेवा नेपाल, पद्मा देवी सरावगी संरक्षक उपकार सेवा नेपाल र प्रकाश थारू सामाजिक अभियन्ता व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिकाहरू तथा विद्यार्थी भाइबहिनीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। विद्यालय प्रशासनले उपकार सेवा नेपालको यस मानवीय र शैक्षिक सहयोगप्रति हार्दिक आभार प्रकट गरेको छ।
