वीरगञ्ज। पर्साको ठोरी गाउँपालिका–५ स्थित सुवर्णपुर चोकबाट कष्टकर जीवन बिताइरहेका एक मानसिक अवस्था कमजोर भएका पुरुषको उद्धार गरिएको छ। मंगलबार दिउँसो करिब २:३० बजे मानवसेवा आश्रम वीरगञ्ज शाखाको टोलीले उनलाई बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको हो।
अन्दाजी ३० वर्ष उमेरका ती पुरुषले आफ्नो नाम र ठेगाना स्पष्ट रूपमा बताउन नसकेको मानवसेवा आश्रमले जनाएको छ। स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको उपस्थितिमा उनलाई मानवसेवा आश्रम वीरगञ्ज शाखामा सुरक्षित रूपमा लगिएको हो।
उद्धार कार्यमा देवेश गुप्ता संस्थापक अभियन्ता मानवसेवा आश्रम, अस्ट बहादुर लोप्चन वडा अध्यक्ष ठोरी गाउँपालिका–५, प्रकाश थारु अभिभावक मानवसेवा आश्रम र विवेक राउत कुर्मी प्रहरी वरिष्ठ हवलदार, प्रहरी चौकी सुवर्णपुर व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।
मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार उद्धारपछि ती पुरुषलाई सरसफाइ तथा नुहाइधुवाइ गराई आश्रममा राखिएको छ। हाल उनलाई चिकित्सक डा. भरत गोईको प्रत्यक्ष निगरानीमा आवश्यक औषधि तथा स्वास्थ्य उपचार प्रक्रिया अगाडि बढाइएको छ।
मानवसेवा आश्रमले सडकमा अलपत्र परेका असहाय तथा मानसिक अवस्था कमजोर भएका व्यक्तिहरूको नियमित उद्धार, उपचार र पुनःस्थापना गर्दै आएको छ। यस्ता व्यक्तिहरू फेला परेमा नजिकको प्रहरी कार्यालय वा मानवसेवा आश्रममा जानकारी गराइदिन आश्रमले आम नागरिकलाई अनुरोध गरेको छ।
