वीरगन्ज । आगामी निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। “परिवर्तनका लागि युवा र भरोसाको केन्द्र” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका दासले बहुदरमाई नगरपालिका–४ डोकैला क्षेत्रमा घरदैलो तथा स्थानीयसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा स्थानीय मतदाताले उत्साहजनक प्रतिक्रिया जनाउँदै देश र जिल्लाको विकासका लागि अब युवा नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्।
स्थानीयसँगको भेटघाटमा उम्मेदवार दासले पर्सा जिल्लाको समग्र विकास र आर्थिक समृद्धिका लागि आफ्ना प्रमुख एजेन्डा सार्वजनिक गरेका छन्। उनका मुख्य कृषि प्रधान क्षेत्र भए पनि सिँचाइ, प्रविधि र बजारको अभाव झेलिरहेका किसानलाई लक्षित गर्दै आधुनिक कृषि प्रविधि, अनुदान र बजार व्यवस्थापनमार्फत पर्सालाई कृषिको केन्द्रका रूपमा विकास गर्ने र युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै उद्योग स्थापना, सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने योजनाहरू प्रकार रहेका छन् ।उनले आगामी निर्वाचनमा आफ्नो चुनाव चिह्न ‘आँखा छाप’ मा मतदान गर्न मतदातासमक्ष अपिल पनि गरेका छन्।
घरदैलोका क्रममा दासले भने,
“म चुनाव जित्नका लागि मात्र होइन, तपाईंहरूको सेवक बनेर काम गर्न आएको हुँ। आज जसरी तपाईंहरूको घरदैलोमा छु, जितेपछि पनि सधैँ जनताकै बीचमा रहनेछु।”
भेटघाटका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार दासलाई जिताउने प्रतिबद्धता जनाउँदै, चुनावपछि पनि अहिले देखाएको सक्रियता र जनताप्रतिको नजिकपन कायम राख्न सुझाव दिएका छन्। दासको युवा जोस, स्पष्ट योजना र प्रत्यक्ष संवादका कारण डोकैला क्षेत्रका मतदातामा नयाँ उत्साह देखिएको स्थानीयले बताएका छन्।
