रौतहट । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बि.कले निर्वाचन निष्पक्ष र भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाउन निर्देशन दिएका छन् ।
मधेस प्रदेशको रौतहट जिल्ला प्रहरी कार्यालयको अनुगमन भ्रमण गर्ने क्रममा उनले मातहतका प्रहरीहरुलाई निर्देशन दिएका हुने । कार्यालयको निरीक्षण पश्चात उपस्थित कार्यालय प्रमुख लगायतका प्रहरी कर्मचारीहरूलाई समसामयिक सुरक्षा चुनौती र प्रहरीको दायित्वबारे विशेष निर्देशन दिए ।
विशेषगरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तपूर्वक सम्पन्न गर्नका लागि अहिलेदेखि नै विशेष सुरक्षा योजना बनाई कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् ।
जिल्लाको शान्ति सुरक्षालाई सुदृढ बनाउन र आपराधिक घटनाहरू नियन्त्रण गर्नका लागि सिमा नाकाहरूमा कडा चेकजाँचको व्यवस्था मिलाउनुका साथै प्रहरी परिचालन र सुरक्षा जाँचलाई थप कडाई गर्न समेत उहाँले कडा निर्देशन दिए ।
यसैगरी, कार्यसम्पादनका क्रममा प्रहरी कर्मचारीहरूले उच्चकोटीको प्रहरी आचरण प्रदर्शन गर्दै नेपाल प्रहरीको प्रतिष्ठा र छवि वृद्धिका लागि थप प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा उहाँले जोड दिए । अनुगमनका क्रममा उनले व्यावसायिक निष्ठाका साथ जनताको सेवामा समर्पित हुन समेत उपस्थित सबैलाई प्रोत्साहित गरेका थिए ।
