वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर १ को चुनावी मैदान रोचक बन्दै गएको छ। ठूला र स्थापित भनिएका राजनीतिक दलका उम्मेदवारहरूलाई मतदाता फकाउन हम्मेहम्मे परिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तको हकमा भने उल्टो दृश्य देखिएको छ। पन्तलाई अहिले मतदाताहरूले नै फोन गरेर भेटघाटका लागि बोलाउन थालेका छन्।
रास्वपाबाट राजनीतिमा उदाएका पन्त पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्। सुरुवाती चरणमा मतदाताका लागि ‘नयाँ अनुहार’ भए पनि मनोनयन दर्तापछिको उनको सक्रियता र घरदैलो अभियानले उनलाई चर्चाको शिखरमा पुर्याएको छ।
‘पहिले त कसले चिनेको थियो र ? तर जब पन्तजीको भिजन र रास्वपाको घण्टीको चर्चा सुन्यौँ, अहिले उहाँ नआएको ठाउँमा हामी आफैँले फोन गरेर बोलाइरहेका छौँ,’ एक स्थानीय मतदाताले भने।
पन्तको लोकप्रियता रातारात आएको भने होइन। पर्सामा रास्वपाको जग बसाल्न र सङ्गठनलाई बलियो बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यसैको प्रतिफल स्वरूप अहिले उनलाई आफ्नो क्षेत्रमा मात्र नभई छिमेकी निर्वाचन क्षेत्रबाट समेत भेटघाटका लागि व्यापक आग्रह आउने गरेको छ।
हरि पन्त आफैँ क्षेत्र नम्बर २ का मतदाता हुन्। तर, पार्टीले उनलाई क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ। ‘म क्षेत्र नम्बर २ को मतदाता भए पनि क्षेत्र १ का जनताले मलाई जुन माया र विश्वास देखाइरहनुभएको छ, यसले मलाई थप उत्साहित बनाएको छ ।’ पन्तले चुनावी अभियानका क्रममा बताए।
निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वमा रहेर सङ्गठन विस्तार गरेकाले कार्यकर्ताको बलियो साथ पाएका पन्त र वीरगन्ज र आसपासका क्षेत्रमा रास्वपाको ‘घण्टी’ ले पुराना राजनीतिक दलहरूलाई ठूलै चुनौती दिने संकेत देखिएको छ।
