मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बुधबार बिहान उम्मेदवार तथा मतदातासँग भेटघाटका लागि मोरङ पुगेका छन्।
बिहानै मोरङ पुगेका शाहले मोरङ–१ का रास्वपा उम्मेदवार अधिवक्ता यग्यमानी न्योपानेसँग भेटवार्ता गरेका छन्। शाह झापाबाट तेस्रो चरणको जिल्ला दौडाहामा निस्किएका हुन्।
यसअघि पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाको दौरा सकेर काठमाडौँ फर्किएका शाह त्यसपछि सुदूरपश्चिमको यात्रामा निस्किएका थिए। काठमाडौँबाट सोमबार झापा फर्किएका उनी मङ्गलबार दिनभर आफ्ना क्षेत्रका मतदातासँग भेटघाटमा व्यस्त रहेका थिए।
बुधबार बिहान भने शाह मोरङको उर्लाबारीबाट फरक जिल्लातर्फको यात्रा सुरु गरेका हुन्। सचिवालयका अनुसार आज उनले मोरङ, सुनसरी र उदयपुर जिल्लामा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम तय गरेका छन्।
तालिकाअनुसार बिहान ७ बजे उर्लाबारीबाट प्रस्थान गरी पथरी र लेटाङ पुग्ने कार्यक्रम रहेको छ। लेटाङबाट करिब ५० मिनेटको यात्रापछि डायनिया पुग्ने र त्यसपछि विराटनगरको बरगाछी क्षेत्रमा जाने कार्यतालिका बनाइएको छ।
विराटनगरबाट दुहबी हुँदै इटहरी पुगेर करिब डेढ घण्टा कार्यकर्ता तथा उम्मेदवारसँग छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। छलफलपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा र साढे १२ बजेपछि बराहक्षेत्रतर्फ प्रस्थान गर्ने तालिका छ।
बराहक्षेत्रको कार्यक्रम सकेर शाहको अन्तिम गन्तव्य उदयपुर तय गरिएको छ। बुधबार दिउँसो ४ बजेसम्म उनी उदयपुर पुग्नेछन्। यस क्रममा उनले पार्टीका कार्यकर्ता, उम्मेदवार तथा मतदातासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्।

