वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.– १ का उम्मेदवार एवं जिल्ला सभापति हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट गरेका छन् ।
जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रमका क्रममा पन्तले सहिद चौरसियाकी आमा रामज्योती देवी र दाजु पृथ्वी नारायण चौरसिया लगायतका परिवारका सदस्यहरूलाई भेटेर साहनुभूति प्रकट गरेका छन् ।
भेटका क्रममा सहिद परिवारले मधेस केन्द्रित दलका नेताहरूप्रति कडा आक्रोश व्यक्त गरेका छन्। मधेस आन्दोलनको जगमा टेकेर राजनीति गर्नेहरूले सत्ता र शक्तिका लागि सहिदको रगतको अवमूल्यन गरेको उनीहरूको गुनासो थियो।
‘मधेस आन्दोलनका बेला हाम्रा छोराछोरीमाथि गोली चलाउनेहरूसँगै मिलेर अहिले नेताहरूले सत्ताको रोटी सेकिरहेका छन्, यो सहिदहरूको अपमान हो’ परिवारका सदस्यहरूले भने। सो अवसरमा सहिद परिवारले अबको विकल्प रास्वपा नै भएको भन्दै पार्टीलाई पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएका थिए।
जवाफमा उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिदहरूको बलिदानलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘मधेस आन्दोलनका सहिदहरूलाई पनि (जेन्जी) (नयाँ पुस्ताको) आन्दोलनका सहिद सरह नै सम्मान र व्यवहारमा उतार्न हामी राज्यलाई निरन्तर घचघच्याउने छौँ।‘
मंगलबार वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य र उत्साहजनक सहभागिता देखिएको छ। श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरी सुरु भएको उक्त कार्यक्रम जगरनाथपुर चोक हुँदै वडाका विभिन्न टोलहरूमा पुगेको थियो।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र सुशासनको अवस्था दयनीय रहेको भन्दै उम्मेदवार पन्तलाई आफ्ना समस्याहरू सुनाएका थिए। पन्तले ती समस्याहरूलाई गम्भीरतापूर्वक नोट गर्दै समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन परिचालन समिति जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीय, युवा, महिला र पार्टी कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गरे । रास्वपाले आगामी दिनमा पनि यस्ता जनस्तरका संवाद र घरदैलोलाई थप तीव्रता दिने जनाएको छ।

