बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बारा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका युवा उम्मेदवार सन्तोष दंगालको पक्षमा जनमत बलियो बन्दै गएको देखिएको छ।
लामो समयदेखि ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले वर्चस्व जमाउँदै आएको यस क्षेत्रमा यसपटक मतदाताको झुकाव नयाँ र युवा नेतृत्वतर्फ देखिएको स्थानीय विश्लेषण छ। तत्कालीन माओवादी केन्द्रका नेताहरूको सक्रियतामा यस क्षेत्रमा भएका विकास निर्माणका कामहरू र उनीहरूले पुर्याएको योगदानलाई आधार मान्दै स्थानीय मतदाताहरू अहिले दंगालको पक्षमा खुल्न थालेका हुन्।
विशेषगरी क्षेत्र नम्बर १ का ग्रामीण तथा सहरी भेगका मतदाताहरूले यसअघि जितेका प्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरिरहेका छन्। यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले अघि सारेका युवा उम्मेदवार दंगालले मतदातामाझ नयाँ आशा जगाएका छन्। चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमका क्रममा उनले पाएको जनसमर्थनले यसपटक बारा १ मा रोचक प्रतिस्पर्धा हुने संकेत गरेको छ।
अच्युतप्रसाद मैनाली र शम्भुबहादुर बुढाथोकी जस्ता पुराना अनुहारसँगै चुनावी मैदानमा उत्रिएका दंगाललाई युवा पुस्ता र विकासप्रेमी मतदाताको साथ मिल्ने देखिएको छ। विकासको मुख्य एजेण्डा र युवा जोसका साथ चुनावी मैदानमा उत्रिएका दंगालको पक्षमा सिर्जना भएको यो लहरले मुख्य दलहरूलाई समेत दबाबमा पारेको छ।
