काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरूका लागि विशेष निर्देशन जारी गरेको छ। निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले माघ १९ गतेदेखि लागू हुने गरी कर्मचारीहरूको राजीनामा, रवाना तथा बिदामा रोक लगाएको हो।
सशस्त्र प्रहरी बलका अनुसार निर्वाचन अवधिभर कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, अन्यत्र कार्यालयमा सरुवा वा रवाना नदिने र साधारण बिदा पनि प्रदान नगरिने निर्णय गरिएको छ। यद्यपि काजक्रिया, गम्भीर बिरामीजस्ता अति आवश्यक अवस्थामा भने बिदा स्वीकृत गरिने बताइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२’ बमोजिम अधिकतम जनशक्ति निर्वाचन सुरक्षामा परिचालन गर्नुपर्ने भएकाले यस्तो निर्णय लिइएको हो।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले देशभरका सबै कार्यालयहरूलाई परिपत्र जारी गर्दै निर्वाचन अवधिभर कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत नगर्न र अन्यत्र कार्यालयमा जानका लागि रवाना नदिन निर्देशन दिएको छ।
निर्वाचनलाई निष्पक्ष, भयरहित तथा सुरक्षित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीले आफ्नो सम्पूर्ण जनशक्ति र स्रोत साधन परिचालन गर्ने तयारी गरेको जनाएको छ।
