नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै नागरिकलाई शान्तिका पक्षमा मतदान गर्न आग्रह गरेकी छन्।
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नवलपुरको हात्तिखोर पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तर्क्रियामा यस्तो आग्रह गरेकी हुन्।
उनले भनिन्, “यो नियमित चुनाव मात्र होइन, विशेष चुनाव हो। शान्तिका लागि मतदान गर्नुहोस्। यो एउटा खुट्किला हो, जसलाई जसरी पनि पार गर्नुपर्छ। व्यक्तिको जित–हार दोस्रो कुरा हो, पहिला देशलाई जिताउनुपर्छ।” देशको शान्ति र रूपान्तरणका लागि सबै एकजुट भएर सङ्कल्प गर्नुपर्ने बेला आएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले शान्ति र सुव्यवस्था कायम भए अवसर सबैलाई प्राप्त हुने विश्वास व्यक्त गरिन्।
दीक्षान्त कवाजको औपचारिक समारोह सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेकी थिइन्।
सो क्रममा उनले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी थिइन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखी काम गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएकी छन्।
