काठमाडौँ । बहुचर्चित ‘टेरामक्स प्रणाली’ खरिद प्रकरणमा विशेष अदालतले उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ। पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका व्यक्तिहरू मुछिएको यस मुद्दामा अदालतले खरिद गरिएका सामग्रीहरूको गुणस्तर र सम्झौता पालनाको अवस्था जाँच गर्न निर्देशन दिएको हो।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले तीनबुँदे आदेश जारी गर्दै उच्चस्तरीय विज्ञ टोली गठन गर्न भनेको छ। अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेका सामग्रीहरू सम्झौता बमोजिम भए/नभएको अध्ययन गर्न निम्न सदस्यर रहने गरी टोली बनाउन आदेश दिएको छ ।
आदेशअनुसार, पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियर (संयोजक), पुल्चोक क्याम्पसकै टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक सीआईबीका विषय विज्ञ, अख्तियारका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि रहनेगरी विज्ञ टोली रहने छन् ।
अदालतले यसअघि नै यो प्रकरणमा भ्रष्टाचार भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो। अब विज्ञ टोलीको प्रतिवेदन आएपछि मात्रै उपकरणको वास्तविक मूल्य र गुणस्तरबारे कानुनी प्रक्रिया थप स्पष्ट हुने देखिएको छ।


