काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। मंगलबार आयोजित एक कार्यक्रमका बीच श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन्।
श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद निर्वाचित भएका थिए। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको भनिएको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। उक्त अडियो प्रकरणपछि रास्वपाले उनलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो र उनको सांसद पद पनि खारेज भएको थियो।
रास्वपाबाट बाहिरिएपछि राजनीतिक रूपमा निस्क्रिय रहेका श्रेष्ठ अब साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमार्फत पुनः राजनीतिमा जोडिएका छन्।
