वीरगन्ज । नेपाल नेत्रहीन क्रिकेट संघ र मधेश प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजनामा वीरगन्जमा ‘अपाङ्गता खेलकुद विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार आयोजित उक्त कार्यक्रममा सहभागी अपाङ्गता अधिकारकर्मी तथा खेलाडीहरूले समाज र राज्य दुवैबाट आफूहरू अपहेलित भएको भन्दै गम्भीर गुनासो व्यक्त गरेका छन्।
नेपाल नेत्रहीन क्रिकेट संघका केन्द्रीय अध्यक्ष पवन घिमिरेले १६ वटा विद्यालयहरूमा क्रिकेट संघ गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै खेल पूर्वाधारको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘हामी समावेशी शिक्षाको कुरा गर्छौँ, तर खेलकुदमा समावेशिता खोइ ? राज्यले खेलकुद र शिक्षालाई अलग गरेर हेर्नु हुँदैन र खेलकुदभित्र पनि अपाङ्गता भएकाहरूलाई छुट्याउनु हुँदैन।’
नेपाली पुरुष नेत्रहीन टोलीले सन् २०१२ देखि हालसम्म ५ वटा विश्वकप खेलिसकेको सन्दर्भ जोड्दै सहभागीहरूले खेलाडीको क्षमतामाथि प्रश्न गर्ने ठाउँ नरहेको बताए। नेत्रहीन विश्वकप क्रिकेटमा नेपाली टोली उपविजेता बनेर देशको पहिचान बनाउन सफल भएपनि राज्यले उचित सम्मान नगरेको दुखेसो गरे ।
अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको नाम उच्च राख्दा पनि राज्यले उचित सम्मान नदिएकोमा खेलाडीहरुको मनोबल घटेको मधेस प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साहले बताए ।
उनले भने, ‘हामीले ५ वटा देशलाई पराजित गरेर फर्किँदा पनि राज्यले न्यूनतम सम्मान समेत गरेन। जबसम्म नीतिगत तहमै अपाङ्गता भएकाहरूको अधिकार सुनिश्चित हुँदैन, तबसम्म हामी अवसरबाट वञ्चित भइरहनेछौँ ।’
सहभागीहरुले अपाङ्गमैत्री पूर्वाधारका खेलमैदानहरू अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा हुनुपर्ने, राज्यको नीति र बजेटमा अपाङ्गता खेलकुदलाई प्राथमिकता दिनुपर्ने, खेलकुदका हरेक संरचनामा अपाङ्गता भएकाहरूको समान प्रतिनिधित्व हुनुपर्ने माग पनि गरेका छन् ।
कार्यक्रममा सचिव निलकण्ठ तिमिल्सिना लगायतका वक्ताहरूले समाजले हेयको दृष्टिले हेर्ने व्यक्तिहरूले नै अन्तर्राष्ट्रिय मञ्चमा देशको पहिचान दिलाएको भन्दै उनीहरूलाई ‘राष्ट्रको गहना’ का रूपमा व्यवहार गर्न आग्रह गरे ।
नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको अध्यतामा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानूले गरेका थिए ।
कार्यक्रममा महानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख रञ्जना पण्डित, अपाङ्ग संघ नेपालका सल्लाहाकार गंगा वाग्ले, नेत्रहीन क्रिकेट संघका महासविच अमृत बराल लगायत सहभागी विभिन्न क्षेत्रका सरोकारवालाहरुले अपाङ्गता भएकाहरुको समावेशी अधिकारका लागि आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण मधेस प्रदेश नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष महेस साहले गरेका थिए ।
