वीरगन्ज । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट ‘नेपाली कम्युनिष्ट पार्टी’ का उम्मेदवार मनोज चौधरीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै मतदातामाझ इमानदारीको राजनीति गर्ने संकल्प व्यक्त गरेका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा आयोजित एक कार्यक्रममा बोल्दै चौधरीले आफूसँग अन्य उम्मेदवारको जस्तो भोट किन्नका लागि अकुत पैसा नभएको स्पष्ट पारे। उनले भभने, ‘मुलुकको वर्तमान राजनीतिक अवस्था र आर्थिक संकटबाट निकास दिने एकमात्र विकल्प नेपाली कम्युनिष्ट पार्टी हो। म त्यही विचार र सिद्धान्त बोकेर मैदानमा आएको छु। मसँग भोट किनेर चुनाव लड्ने पैसा छैन र म त्यसो गर्दिनँ पनि।’
चौधरीले पैसा र प्रलोभनमा परेर मतदान नगर्न मतदाताहरूलाई सचेत समेत गराएका छन् । ‘जसले आज केही हजारका लागि आफ्नो अमूल्य भोट बेच्छन्, उनीहरूले आगामी पाँच वर्षसम्म पछुताउनुपर्नेछ ।’ उनले चेतावनी दिँदै भने, ‘देशलाई संकटमा धकेल्ने र अस्थिरता निम्त्याउने शक्तिहरूबाट बचाउन यसपटक विवेकपूर्ण मतदान आवश्यक छ।’
पर्सा क्षेत्र नम्बर २ मा यसपटक पुराना दलहरूलाई चुनौती दिँदै चौधरीले ‘स्वच्छ राजनीति र विकास’ को एजेन्डा अघि सारेका छन् । देशलाई जोगाउन र निकास दिन आफ्नो पार्टीको उम्मेदवारी रहेको दाबी गर्दै उनले जनताको मत नै आफ्नो वास्तविक पुँजी भएको बताए ।
अहिले केही राजनीतिक दलहरु व्यक्तिलाई प्रधानमन्त्री तोकेर चुनावमा जनतालाई आकर्षित गर्नेतर्फ लागिरहेको बताउदै अहिले नै उनीहरुले तोकेका व्यक्ति प्रधानमन्त्री र मन्त्री हुने अवस्था नरहेको बताए । जनतालाई निर्वाचन प्रणाली र प्रकृयाको बारेमा वास्तविक जानकारी नगराई व्यक्तिलाई प्रधानमन्त्री र मन्त्रीको लोभ देखाएर नागरिकको मतको दुरुपयोग गर्न खोजिएको चौधरीको टिप्पणी छ ।
नेपाली कम्युनिष्ट पार्टीले अहिले सबै नयाँ युवाहरुलाई अवसर दिएको र कसैलाई प्रधानमन्त्रीको रुपमा अगाडि नसारेको स्पष्ट पार्दै अब आउने चुनावमा बहुमत दिए विज्ञहरुबाट मन्त्रीमण्डलमा पठाउने र सुशासन, सामाजिक न्याय र समृद्धि हुदै समाजवादको बाटोमा अगाडि जाने बताए ।
