जनकपुरधाम । नेपाली कांग्रेसले जनकपुरधाममा आयोजना गर्न लागेको विशाल पार्टी सभा रद्द गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै सभाका लागि अनुमति नदिएपछि कांग्रेसले कार्यक्रम स्थगित गरेको हो ।
कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा भव्य सभा गर्ने तयारी गरेको थियो । उक्त सभालाई पार्टी सभापतिले विशेष सम्बोधन गर्ने र सोही स्थानबाट देशव्यापी रूपमा निर्वाचन प्रचारप्रसारको औपचारिक सुरुवात गर्ने कांग्रेसको योजना थियो ।
निर्वाचन आयोगले आचारसंहिता लागू भएको अवस्थामा ठूला सभा/सम्मेलन गर्न रोक लगाएको छ । आयोगले अनुमति नदिएपछि विधि र प्रक्रियाको सम्मान गर्दै कार्यक्रम रोकिएको हो ।
कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने दायित्व रहेकाले कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले अबका नयाँ कार्यक्रमको तालिका केही समयपछि सार्वजनिक गरिने समेत बताउनुभयो ।
यसअघि कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरधाममा शक्ति प्रदर्शन गर्ने गरी तयारी तीव्र पारेको थियो ।
