वीरगन्ज । ज्ञानदा एकेडेमीको सामाजिक सेवा कमिटी (सहयोग) शनिबार ‘सहयोग उत्सव’ को आयोजना गरेको छ । आर्थिक रूपमा पिछडिएका र विपन्न परिवारलाई सहयोग गर्ने पवित्र उद्देश्यका साथ विद्यालयले हरेक वर्षझैँ यस वर्ष पनि यो बृहत् मेला आयोजना गरेको हो।
करिब दुई हजार दर्शकले अवलोकन गरेको उक्त मेलाबाट सङ्कलित रकम समाजसेवाका विभिन्न कार्यमा खर्च गरिने आयोजकले जनाएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप कुमार तुलस्यानको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि सिद्धार्थ राष्ट्रिय माध्यमिक विद्यालयकी निर्देशक एवं प्रधानाध्यापक रेनुका गिरीले उदघाटन गरेकी थिईन् ।
प्रमुख अतिथि गिरीले ज्ञानदा एकेडेमीको यो सामाजिक पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा करुणा र उत्तरदायित्वको भावना जागृत गराउने विश्वास व्यक्त गरिन् ।
उत्सवलाई रोचक बनाउन ५० भन्दा बढी स्टलहरू राखिएका थिए, जहाँ खानाका परिकार, लत्ताकपडा, शैक्षिक सामग्री र प्रदर्शनीका वस्तुहरू उपलब्ध थिए।
बालबालिकाका लागि मनोरञ्जनात्मक राइडहरू र लोकप्रिय साङ्गीतिक ब्यान्डको प्रस्तुतिले मेलाको रौनक थप बढाएको थियो। कार्यक्रममा विद्यालयका छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षिका सुजाता शर्माले गरेकी थिईन् ।
प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू विनीत लोहिया, प्रेम जाटिया, रवि प्रमोद चौरसिया, रवीन्द्र बरनवाल, दिनेश बाँका, सुरेश शाह, जगन्नाथ पटेल, पवन कानोडिया र पवन पोद्दारको उपस्थिति रहेको थियो।

