वीरगन्ज । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सामा लोकप्रियता बढ्दै गएको छ । वीरगन्जको रोयल पार्टी प्यालेसमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका सयौँ नेता तथा कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
पर्सा क्षेत्र नं.– ४ का विभिन्न गाउँका नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राप्रपा र सुशासन पार्टी परित्याग गरी उनीहरू रास्वपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा जसपा नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं.१ का वडाध्यक्ष लालबाबु चौरसिया, पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ तथा पूर्व वडाध्यक्ष महादेव चौरसिया रहेका छन्।
त्यस्तै नेपाली कांग्रेसका तर्फबाट प्रसाद शिवशंकर चौरसिया, नरेन्द्र राय तिवारी, राजेन्द्र प्रसाद चौरसिया, राजु प्रसाद पटेल, राप्रपाका ललन ठाकुर र सुशासन पार्टीका लक्ष्मण महतो लगायतका स्थानीय प्रभावशाली नेताहरूले निःशर्त रास्वपाको सदस्यता ग्रहण गरेका छन्।
कार्यक्रममा युवाहरूको पनि ठुलो सहभागिता देखिएको थियो। कालिकामाई गाउँपालिका वडा नं.२ बाट नेकपा एमालेका मनमोहन प्रसाद चौरिया, राजेश साह, अकलेश कुशवाहा सहितका नेताहरूसँगै ‘जेनजी’ पुस्ताका राजनिश चौरसिया, कृष्णा कुशवाहा, बिरेन्द्र प्रसाद साह लगायतका युवाहरू रास्वपामा आवद्ध भएका छन्।
यस्तै वडा नं. ५ बाट नेपाली कांग्रेस र जसपाका दर्जनौँ कार्यकर्ताहरूले पनि घण्टी चिह्न अंकित झण्डा बोकेका छन्।
नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, जिल्ला उपसभापति तुल्सा पौडेल र नेता टेकबहादुर शाक्यले अबिर र टीका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले यो जनलहरले पर्सा क्षेत्र नं.ं ४ मा रास्वपालाई मुख्य शक्तिको रूपमा स्थापित गरेको दाबी गरे । उनले आगामी फागुनमा हुने निर्वाचनको तयारीमा जुट्न सबै कार्यकर्तालाई निर्देशन समेत दिए ।
क्षेत्रीय सभापति जितेन्द्र मिश्रले आगामी निर्वाचनमा पर्सा क्षेत्र नं.४ बाट प्रतिनिधि सभाका लागि टेकबहादुर शाक्य रास्वपाको उम्मेदवार रहने जानकारी दिँदै भारी मतले जिताउन अपिल गरे ।
जीतेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए ।
