वीरगन्ज । शिक्षामा योगदान गरेको निजी विद्यालयहरुलाई राज्यले वेवास्ता गरेको निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले गुनसो गरेको छ ।
प्याब्सन पर्साको दोस्रो जिल्ला परिषद भेलामा सहभागी निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का जिल्लादेखि केन्द्रसम्मका नेतृत्वले शिक्षाको गुणस्तरीयतामा निजी विद्यालयहरुले गरेको योगदानमा राज्यबाट हौसला नपाएको बताएका हुन् ।
भेलामा निजी विद्यालयहरूको एकता, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–विद्यार्थी हित तथा शिक्षा क्षेत्रका समसामयिक चुनौतीबारे बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतमले निजी विद्यालयहरुले सेवामूलक व्यावसायमा गरेको लगानी र त्यसबाट उत्पादन गरिएको जनशक्तिले राज्यलाई ठूलो योगदान दिएको भएपनि राज्यले भने अझै पनि निजी विद्यालयहरुलाई सहयात्रीको रुपमा नहरेको टिप्पणी गरे ।
उनले सामुदायिक विद्यालयका शिक्षकहरुलाई राज्यले ठूलो रकम खर्च गरेर विभिन्न तालिम गोष्ठि र सेमिनारहरुमा सहभागी गराउने भएपनि निजी विद्यालयका शिक्षकहरुलाई पनि उनीहरुसँगै शिक्षण सिकाई अभ्यासमा सहभागी गराउनुपर्नेमा जोड दिए ।
उनले राज्यले सहभागी नगराएपनि निजी विद्यालयहरुले सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई शिक्षण सिकाई अभ्यासको बारेमा अनुभव आदान प्रदान गर्न सहभागी गराउने अभ्यासको शुरुवात गरिएको बताए ।
प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पूरन प्रधानले निजी विद्यालयहरुले शिक्षाको गुणस्तर सुधार र आम नागरिकको शिक्षाको पहुँच बढाउन छात्रवृत्ति दिदै आएको र राज्यले तोकेको मापदण्डमा ठूलो संख्यामा छात्रवृक्तिको सुविधा दिदै आएपनि त्यसको मूल्यांकन राज्यबाट नभएको बताए ।
प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन मधेश प्रदेशका प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, प्याब्सनका बरिष्ठ सल्लाहाकार प्रकाश उपाध्याय, हिसानका केन्द्रीय सदस्य उमेश गुप्ता लगायतले शुभकामना व्यक्त गरेका थिए ।
वक्ताहरूले निजी तथा संस्थागत विद्यालयहरूको भूमिकाबारे चर्चा गर्दै शिक्षा क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे जोड दिएका थिए। वक्ताहरूले विद्यालयहरूको शैक्षिक गुणस्तर, अनुशासन र निरन्तर मेहनतको प्रशंसा गर्दै यस्ता उपलब्धिले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र सुधारको वातावरण सिर्जना हुने बताए।
यसैबीच कार्यक्रममा १० बर्षदेखि ४० बर्षसम्म निरन्तर सेवा गरेका प्याब्सन आबद्ध ३१ वटा विद्यालयका ३१ जना शिक्षकलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।
यस्तै शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालयहरूलाई सम्मान गरिएको छ। प्याब्सन पर्साले ४ जीपीए हासिल गर्न सफल पर्साको गौतम माध्यमिक विद्यालय र शतप्रतिशत नतिजा ल्याउन सफल मस्कोट एकेडेमी लाई विशेष सम्मान गरेका थियो ।
ब्सन पर्सा जिल्लाले प्याब्सन वीरगन्ज महानगर समितिलाई सम्मान गरेको छ। महानगर समितिले नेपालमै पहिलो पटक छात्रा क्रिकेट प्रतियोगिता सफलताका साथ आयोजना गरेको तथा १० प्रतिशत अनिवार्य छात्रवृत्ति बाहेक पनि खुला आवेदनमार्फत पारदर्शी ढंगले छात्रवृत्ति प्रदान गरेकोले सम्मान प्रदान गरिएको हो।
यस प्रक्रियामा उत्कृष्ट हुने विद्यार्थीलाई ल्यापटप समेत वितरण गरेर समितिले शैक्षिक क्षेत्रमा एक उदाहरणीय कार्य गरेको ठहर प्याब्सन पर्साले गरेको छ।
प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव र सचिव अमित आलोक सहित महानगर कार्यसमितिलाई प्याब्सन पर्साले सम्मान गरेको हो । निजी विद्यालयहरूको समन्वय, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले बताए ।
कार्यक्रममा प्याब्सन मधेस प्रदेशमा मनोनित भएका पूरन प्रधान, प्राज्ञिक सल्लाहाकारमा मनोनित भएका लाल बहादुर पटेल र मणी पाख्रिन, तथा पर्साको प्राज्ञिक सल्लाहाकारमा मनोनित भएका श्याम केसी लगायतलाई पनि सम्मान गरिएको थियो ।
उद्घाटन सत्रपछि भएको परिषदको बन्दसत्रमा निवर्तमान कार्यसमितिले पेश गर्न बाँकी रहेको आर्थिक प्रतिवेदन र वर्तमान कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनहरुमाथि छलफल गरी बहुमतले पारित भएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

