काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासहित शीर्ष नेताहरूबीच पार्टीलाई एकढिक्का कसरी अघि बढाउने भन्ने विषयमा छलफल जारी छ । कोइरालाको सचिवालयका अनुसार महाराजगञ्जस्थित देउवा निवासमा शनिबार साढे १ बजेदेखि छलफल भइरहेको हो ।
छलफलमा सभापति देउवा, डा. कोइरालासँगै सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल सहभागी छन् । यसअघि बिहान पनि कोइरालासहितका नेताहरू देउवालाई भेट्न पुगेका थिए ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि त्यसलाई रोक्ने प्रयासमा देउवासहितका नेताहरू सक्रिय भएका छन् भने शेखर कोइराला दुई पक्षबीच सहमति जुटाउने प्रयासमा छन् । विशेष महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुने तय छ ।

