जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार बिहान ११ बजे पद तथा गोपनियताको शपथ लिने भएका छन्। शुक्रबार नियुक्त भएका यादवको शपथ कार्यक्रम आज जनकपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को एकता घोषणा सभाका कारण स्थगित भएको हो।
यादव सात दलीय गठबन्धन—कांग्रेस, जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति—का ७७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
सत्ता गठबन्धनले आइतबार ६ दलबाट एक–एक मन्त्री नियुक्त गर्ने तयारी गरेको छ, यद्यपि मन्त्रालय भागबण्डामा सहमति बाँकी छ। सुरुमा सबै मन्त्री विनाविभागीय रहनेछन्।
यसअघि सर्वोच्चको आदेशपछि एमालेका सरोज यादव पदमुक्त भएका थिए। सोसँगै एमालेले मधेसमा मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख तीनै पद गुमाएको छ। सभामुख पद अहिले खाली छ र गठबन्धनभित्र त्यसका लागि पनि छलफल भइरहेको छ।

