काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८८ दिन बाँकी छ । निर्वाचन आयोगले तयारी तीव्र बनाउँदै समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी प्रक्रिया आजदेखि सुरु गरेको छ। राजनीतिक दलहरूले आज बिहान १० देखि दिउँसो ४ बजेसम्म समानुपातिकतर्फ आवेदन दिन सक्नेछन्। दलहरूको आवेदन सूची मंसिर २४ गते प्रकाशित हुनेछ।
समानुपातिकतर्फ उमेदवारको बन्दसूची पेस गर्ने समय आगामी पुस १३ र १४ गते निर्धारण गरिएको छ भने अन्तिम बन्दसूची माघ ३० गते सार्वजनिक हुनेछ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्।
प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन दर्ता तथा सूची प्रकाशन हुनेछ। मनोनयनविरुद्ध उजुरी माघ ७ गते, नामावली प्रकाशन माघ ८ गते र नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिनेछ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

