कलैया । नयाँ कदम नेपाल नामक संस्थाले २० औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा एक प्रेरणादायी कार्यक्रम सम्पन्न गरेको छ। कलैयास्थित दुर्गा माध्यमिक विद्यालय, बरेवामा अध्ययनरत नयाँ कदम नेपालद्वारा अन्तर्राष्ट्रिय अपांग दिवसमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई संस्थाले खाजा र शैक्षिक सामग्रीहरू वितरण गरेर २० औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाएको हो।
समावेशी शिक्षा, सामाजिक उत्तरदायित्व र अपांगता भएका बालबालिकाको अधिकार सुदृढीकरणलाई प्रमुख लक्ष्य मानेर गरिएको यो कार्यक्रमले विद्यालय र समुदाय दुबैमा सकारात्मक ऊर्जा र सन्देश प्रवाह गरेको छ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नया कदम नेपालका अध्यक्ष रंजीत पाण्डेयले अपांगता भएका विद्यार्थीहरूलाई अवसर, सम्मान र आत्मविश्वास दिन समाजका सबै पक्ष उत्तरदायी हुनुपर्नेमा जोड दिए । अध्यक्ष पाण्डेयले भने, “हामीले बनाउने समाज समान अवसरमा आधारित हुनुपर्छ। अपांगता कमजोरी होइन, यो त क्षमता देखाउने अर्को माध्यम हो।”
कार्यक्रमका विशिष्ट अतिथिहरू प्रभाकर मिश्र, पावन यादव र बिहारी महतोलगायत समुदायका सामाजिक अभियन्ताहरूले नया कदम नेपालले श्रवणशक्ति कम भएका विद्यार्थीहरूको हकहितका लागि गरेको यो पहलको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
उनीहरूले यस्ता कार्यले समाजमा अपांगता भएका व्यक्तिहरूप्रति सकारात्मक धारणा निर्माण गर्न मद्दत पुग्ने बताए । साथै, विकलांगता भएका बालबालिकाको विकासमा सहयोग पुर्याउने कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औँल्याए ।
संस्थाका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अनुराधा अधिकारीले गरेकी थिईन् ।
उनले समाजका प्रत्येक नागरिकलाई अपांगता भएका व्यक्तिहरूप्रति संवेदनशील र सहानुभूतिको विचार राखी समावेशी वातावरण बनाउन सहयोग गर्न आग्रह गरिन् ।
नयाँ कदम नेपालले विगतदेखि नै अपांगता भएका व्यक्तिहरूका अधिकार, शिक्षा, स्वास्थ्य तथा सीप विकासका क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएको छ।
बुधबार सम्पन्न यो कार्यक्रम कान्न नसुन्ने विद्यार्थीको शैक्षिक यात्रामा उपयोगी योगदानका साथै अपांगता भएका व्यक्तिहरूलाई सम्मानपूर्वक सम्बोधन गर्ने समाज निर्माणतर्फको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

