रौतहट । रौतहटको चन्द्रपुर क्षेत्रमा जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पत्तीमा गरिएको तोडफोड र आगजनी प्रकरणमा संलग्न भएको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा–८ का ४३ वर्षीय हरिनारायण चौधरी छन्।
गत भदौ २३–२४ मा आन्दोलन हिंसात्मक बन्दै जाँदा इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँका सवारी साधनमा क्षति पुगेको थियो। सो घटनामा संलग्नताको प्रारम्भिक प्रमाणका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर ‘अपराधिक उपद्रव’ मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डीएसपी विष्णुप्रदीप वस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र प्रमाण संकलन जारी छ। प्रहरीका अनुसार तोडफोड तथा आगजनीमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइनेछ।

