काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडानका लागि विदेशी कम्पनी ‘डेकाटोर’सँग भएको सम्झौताको म्याद फेरि थप्ने सरकारी तयारीप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो नवीकरणले राष्ट्रियता, गोपनीयता र जनहितमाथि गम्भीर आघात पुर्याउने दाबी गर्दै अन्तरिम सरकारलाई चेतावनी दिएका छन्।
उनका अनुसार इम्बोस्ड प्लेटमा प्रयोग हुने सूचना प्रणालीमार्फत विदेशी कम्पनीले नेपाली नागरिकको व्यक्तिगत डेटा नियन्त्रण गर्ने जोखिम रहन्छ, जुन राष्ट्रिय सुरक्षा दृष्टिले खतरा हो। साथै, अंग्रेजी अक्षर प्रयोग हुनु संविधानविपरीत र शुल्क महँगो तथा जनतामाथि अन्यायपूर्ण भएको उनको आरोप छ।
रावलले विगतमै व्यापक विरोध खेपेको यो परियोजनालाई पुनः निरन्तरता दिने प्रयास असंवैधानिक र जनविरोधी भएको भन्दै तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन्।

